औषधीय गुणले भरिएको मेथी

जाडोयामको आगमनसँगै बजार सागसब्जीले भरिन्छ । रायो, तोरी, पालुंगो, चम्सुरजस्ता सागले भान्सामा स्वाद थप्छन् र शरीरलाई पोषण दिन्छन् । यिनैमध्ये एउटा अद्भुत साग हो मेथी । स्वाद र सुगन्धका कारण लोकप्रिय यो साग स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक मानिन्छ । पुराना पुस्ताका मानिसहरूले जाडोमा मेथीको लड्डु खाँदै गरेको दृश्य हामीले देखेका छौँ । र, त्यसको वैज्ञानिक कारण पनि गहिरो छ । मेथी केवल खाना होइन, एउटा प्राकृतिक औषधि हो । यसले शरीरको सन्तुलन, ऊर्जा र रोगप्रतिरोधात्मक क्षमता कायम राख्न मद्दत गर्छ ।

आज धेरै मानिसहरू कब्जियत, ग्यास्ट्रिक वा पेट फुल्ने समस्याबाट पीडित छन् । मेथीको हरियो साग नियमित रूपमा खाँदा पाचनतन्त्र सक्रिय हुन्छ । कब्जियत हट्छ र पेट हल्का महसुस हुन्छ । यसले पेटमा हुने एसिडको मात्रा सन्तुलनमा राखेर ग्यास्ट्रिकबाट मुक्ति दिन्छ । पेटमा किरा परेको अवस्थामा पनि मेथीको रस प्रभावकारी औषधि बन्न सक्छ । बच्चालाई दैनिक एक चम्चा मेथीको रस खुवाउँदा पेटको संक्रमण घट्ने र भोक बढ्ने बताइन्छ ।

जाडोयाममा जोर्नी दुख्ने, हातखुट्टा सुन्निने वा हाडजोर्नीको समस्या बढ्ने गर्छ । त्यस्तो अवस्थामा मेथीको सेवन अत्यन्त उपयोगी हुन्छ। यसको बिउ वा पात, दुबैमा हुने प्राकृतिक तत्वहरूले शरीरको सूजन घटाउँछन् र जोर्नीको दुखाइ कम गर्छन् । त्यसैले पुराना पुस्ताले मेथी, घिउ र सुकिला फलफूल मिसाएर लड्डु बनाएर खाने परम्परा बसाएका हुन् – शरीरलाई भित्रैदेखि तातो, बलियो र रोगमुक्त राख्ने उद्देश्यले ।

कपाल र छालाको हेरचाहमा पनि मेथी अद्भुत काम गर्छ । मेथीको पातलाई पिसेर कपालमा लगाउँदा र्‍याल कम हुन्छ, कपाल बाक्लो, कालो र चम्किलो देखिन्छ । यसले टुक्रिएको कपाल पुनर्जीवित गर्न मद्दत गर्छ । छालाको हकमा मेथीको पेस्ट अनुहारमा लगाउँदा छालामा प्राकृतिक चमक आउँछ, असिलोपन बढ्छ र रुखोपन घट्छ । जाडोमा रुखो हुने छालाका लागि यो प्राकृतिक मास्चराइजरझैँ काम गर्छ ।

मधुमेहका रोगीहरूका लागि मेथी एक वरदानसरह हो । बिहान खालीपेट मेथीको रस वा त्यसको पात उमालेको पानी पिउनाले रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसको बिउमा पाइने घुलनशील फाइबरले सुगर नियन्त्रणका साथै तौल घटाउन पनि मद्दत गर्छ । नियमित सेवनले शरीरमा बोसो जम्मा हुन दिंदैन र वजन सन्तुलनमा रहन्छ ।

रगतचाप असन्तुलन हुनेहरूका लागि पनि मेथी उपयोगी मानिन्छ । यसको हरियो तरकारीमा प्याज र अलिकति अदुवा मिसाएर पकाउँदा रक्तचाप सन्तुलनमा रहन्छ । उच्च रक्तचापका साथै न्यून रक्तचाप भएका दुबै समूहका मानिसले मेथीको सागबाट फाइदा लिन सक्छन्, किनभने यसमा हुने पोटासियम र फलामले रक्तसंचार सुधार गर्छ ।

रुघा-खोकी वा सर्दीबाट जोगिन पनि मेथी उपयोगी हुन्छ । जाडोमा नियमित मेथीको सेवनले शरीरमा तातोपन कायम रहन्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैले हरेक बिहान अलिकति मेथी पानीमा उमालेर वा सागको रूपमा खाँदा सामान्य चिसो रोगबाट बच्न सकिन्छ ।

मुटु स्वस्थ राख्न मेथीको भूमिका महत्त्वपूर्ण छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र प्राकृतिक तत्वहरूले रगतमा बोसो जम्न दिंदैनन्, जसले हृदयघातको जोखिम घटाउँछ । नियमित सेवनले मुटुको नसा सफा राख्ने र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने काम गर्छ ।

समग्रमा भन्नुपर्दा मेथी एक यस्तो बहुगुणी साग हो जसले शरीरभित्रदेखि बाहिरसम्म फाइदा पुर्‍याउँछ । यो पाचन सुधार्छ, सुगर घटाउँछ, कपाल र छालालाई आकर्षक बनाउँछ, रक्तचाप सन्तुलनमा राख्छ, मुटुलाई स्वस्थ राख्छ र शरीरको प्राकृतिक तातोपन कायम राख्छ ।
जाडोमा तातो मेथीको सागमा थोरै अदुवा र मसला मिसाएर खाँदा स्वादसँगै स्वास्थ्यको उपहार पनि पाइन्छ । त्यसैले, हरेक भान्सामा मेथीको सागलाई नियमित स्थान दिनु भनेको शरीरलाई प्राकृतिक सुरक्षा कवच दिनु हो । मेथी स्वादिलो पनि छ औषधीय गुणले भरिएको पनि छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.