हाम्रो भान्साघरदेखि जडीबुटीको दुनियाँसम्म टिमुरको उपस्थिति छ । मसला, अचार, चटनी वा आयुर्वेदिक औषधि- टिमुरले नेपाली स्वाद र स्वास्थ्य दुवैमा अद्वितीय स्थान ओगटेको छ । टिमुर प्रायः महाभारत पर्वत श्रृंखलाको करिब १२०० देखि १५०० मिटर उचाइमा पाइन्छ । यसको बोट करिब दुईदेखि छ मिटर अग्लो हुन्छ, जसमा तिखा काँडा र सुगन्धित पातहरू पलाएका हुन्छन् । माड्दा मीठो बासना आउने यी पातहरूले वनलाई नै सुगन्धित बनाइदिन्छन् । टिमुरका स-साना राताम्य फलहरू पाकेपछि झन् आकर्षक देखिन्छन्-ती फलको स्वाद पिरो, तितो र हल्का झन्झनाउने खालको हुन्छ । गाउँघरमा बल्छीको रूपमा प्रयोग गरिने यसका काँडाहरूले यसको उपयोगिता झन् फराकिलो बनाएका छन् ।
टिमुरको लागि खुला र घामिलो स्थान उपयुक्त हुन्छ। भिरालो वा ढुंगामाटो जमिनमा पनि सजिलै फस्टाउँछ । बलौटे र मध्यम आद्र्र माटोमा यसको वृद्धि राम्रो हुन्छ । हिउँदमा चिसो र गर्मीमा न्यानो तापक्रम भएको ठाउँ यसको लागि आदर्श मानिन्छ । नेपालका रुकुम, रोल्पा, प्युठान, सल्यान, आछाम र जाजरकोट क्षेत्र टिमुर उत्पादनका प्रमुख भू-भाग हुन् । यी क्षेत्रमा टिमुर प्राकृतिक रूपमा पनि धेरै पाइन्छ ।
खेतीका दृष्टिले टिमुर निकै उपयोगी बाली हो । यसको बिरुवा फागुन-चैततिर नर्सरीमा बीउबाट वा हाँगा काटेर पनि उत्पादन गर्न सकिन्छ । बीउबाट उम्रेको बिरुवा करिब एक वर्षपछि रोप्न मिल्छ भने कटिङ विधिबाट तयार पारिएको बिरुवाले छिट्टै फल दिन थाल्छ । असार महिनामा वा वर्षा सुरु हुनुअघि बिरुवा रोप्दा राम्रो परिणाम पाइन्छ । एकपटक रोपेको टिमुर बोटले २५-३० वर्षसम्म फल दिन सक्छ । सामान्य हेरचाह, गाईबस्तुको मल र पानीको व्यवस्थाले यसको उत्पादनमा ठूलो सुधार ल्याउँछ ।
तीन वर्षको उमेर पुगेपछि टिमुर बोट फल दिन सुरु गर्छ । एउटा परिपक्व बोटबाट दुईदेखि चार किलोसम्म फल उत्पादन हुन्छ । एक हेक्टर क्षेत्रमा करिब हजार बोट रोप्न सकिन्छ, जसबाट औसत दुई हजारदेखि चार हजार किलो टिमुर उत्पादन गर्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य प्रतिकिलो नौ सयदेखि बाह्र सय रुपैयाँसम्म रहन्छ भने अन्तर्राष्ट्रिय बजारमा अझै महँगो पर्छ । यस हिसाबले हेर्दा टिमुर खेती ग्रामीण क्षेत्रका लागि अत्यन्त लाभदायक कृषि व्यवसाय बन्न सक्छ ।
टिमुरको उपयोग केवल मसलामा सीमित छैन। यसको फल, बोक्रा, पात र जरासम्म औषधीय रूपमा प्रयोग हुन्छ । जंगली जुका फाल्न, पेट दुखाइ, दाँत दुखाइ, हाडजोर्नीको पीडा, घाउखटिरा र सर्दी-ज्वरोमा यसको सेवन वा तेल प्रयोग गर्नाले राहत मिल्ने मान्यता छ । यसको बोक्राबाट सुगन्धित तेल निकालिन्छ, जुन हातखुट्टा मर्किँदा, टाउको दुख्दा वा सुइनीमा अत्यन्त उपयोगी हुन्छ । साथै, टिमुरको सेवनले पाचन प्रणाली सुदृढ बनाउने, रक्तचाप सन्तुलनमा राख्ने र शरीरमा न्यानोपन दिने औषधीय गुण बोकेको छ ।
नेपालको ग्रामीण जीवनशैलीसँग टिमुरको सम्बन्ध पुरानो छ । पहिले केवल जडीबुटीको रूपमा चिनिने टिमुर आज वाणिज्यिक मूल्य बोकेको नगदे बाली बन्दै गएको छ । यसको खेतीले बाँझो जमिनको उपयोग गर्न सकिन्छ, जनावर वा चराचुरुङ्गीको क्षति हुँदैन, र हेरचाह पनि अन्य बालीको तुलनामा कम लाग्छ । यही कारण पछिल्लो समय धेरै किसान यसतर्फ आकर्षित भएका छन् ।
यदि सरकारले टिमुर खेतीका लागि आवश्यक प्रविधि, बीउ, मल, र आर्थिक अनुदानको सहज पहुँच सुनिश्चित गरिदियो भने यो बालीले गाउँका युवा विदेशिनु पर्ने बाध्यता घटाउन सक्छ । टिमुर खेतीबाट आत्मनिर्भर किसान र रोजगारी सिर्जना दुवै सम्भव छ । यसको माग अहिले नै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उच्च छ-तर आपूर्ति भने न्यून । यस अन्तरलाई अवसरका रूपमा लिन सके टिमुर नेपालको पहाडी भेगका लागि आर्थिक पुनरुत्थानको प्रमुख आधार बन्न सक्छ ।






