आउँदो २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट रामबहादुर थोकर प्रत्यक्ष उम्मेदवारका रूपमा मैदानमा छन् । मकवानपुरको कैलाश गाउँपालिका–१०, साविक नामटार गाविस मर्याङकोटमा वि.सं. २०२३ साउन ७ गते जन्मिएका थोकरले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । उनले स्थानीय रत्नज्योति निमाविबाट सात कक्षा उत्तीर्ण गरेपछि भुटनदेवी मावि, हेटौँडाबाट वि.सं. २०४२ सालमा एसएलसी पूरा गरेका हुन् ।
थोकरको राजनीतिक यात्रा वि.सं. २०३९ सालबाट सुरु भएको हो । रुपचन्द्र विष्ट र कमल थापाजस्ता नेताहरूको चर्चा चलिरहेका त्यो बेला भुटनदेवी माविमा अध्ययनरत थोकर राप्रपाको विद्यार्थी संगठन राप्रविसंमा आबद्ध भए । यहीँबाट उनले आफ्नो राजनीतिक सोच र चेतनालाई विकास गर्दै लगे । वि.सं. २०३९ मै ओमुटेम्पा लामा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएपछि थोकरले उनका स्वकीय सचिवको जिम्मेवारी सम्हाले । लामालाई सफल बनाउन उनले आफ्नो विवेक, क्षमता र बलबुताले भ्याएसम्म सक्रिय भूमिका निर्वाह गरे । वि.सं. २०४३ सालको निर्वाचनमा समेत उनी ओमुटेम्पा लामाको चुनावी सल्लाहकारका रूपमा अभियानमा खटिए ।
थोकरको समुदाय सिमान्तकृत चेपाङ बाहुल्य भएको क्षेत्र भएकाले वि.सं. २०४० देखि २०४२ तिर उनले चेपाङ प्रजा विकास कार्यक्रमको अगुवाइ गरे । चेपाङ समुदायको जीवनस्तर सुधार र चेतना अभिवृद्धिका लागि उनले व्यक्तिगत र राजनीतिक दुवै रूपमा सक्रिय भूमिका खेले । आज चेपाङ समुदायमा देखिन थालेका साना–साना सकारात्मक परिवर्तनमा त्यतिबेलाका थोकरजस्ता राजनीतिकर्मी तथा सामाजिक अभियन्ताको योगदान रहेको मानिन्छ । यही कारण उनी विगतदेखि नै भूइँमान्छे तथा तल्लो समुदायको उत्थानमा समर्पित व्यक्तिका रूपमा चिनिँदै आएका छन् ।
गाउँसमुदायलाई गरिबीबाट कसरी माथि उठाउन सकिन्छ भन्ने राजनीतिक अभियानमै होमिएका बेला उनी स्वयं व्यवसायिक समस्यामा परे । त्यसपछि केही समय गाउँघरबाट टाढा रही व्यवसायिक जीवन अगाडि बढाए । वि.सं. २०४६ चैत्र २६ गते बहुदलीय व्यवस्था घोषणा भएपछि पार्टी प्रणाली पुनः सक्रिय बनेसँगै उनले व्यवसाय त्यागेर गाउँ फर्किए । त्यतिबेला राप्रपाभित्र थापा र चन्द समूह रहेकामा उनले ‘हलो’ चिन्ह भएको चन्द समूह रोजे । पछि यी दुई समूह एकीकृत भए । वि.सं. २०४७ सालमा आफ्ना राजनीतिक अभिभावक ओमुटेम्पा लामा नेपाली कांग्रेसमा प्रवेश गरे पनि थोकर भने आफ्नो राजनीतिक निष्ठामा अडिग रहे । विद्यार्थी जीवनबाट सुरु गरेको राजनीतिक यात्रा आफ्नै पार्टीमा निरन्तर अघि बढाउने अठोट उनले कायम राखे ।
पार्टी एकतापछि बनेको राजनीतिक माहौलमा वि.सं. २०५६ सालको निर्वाचनमा मकवानपुरबाट कमल थापा विजयी भए । त्यस निर्वाचनमा थोकरको अगुवाइमा बनेको चुनावी वातावरणले थापालाई विजय दिलाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । वि.सं. २०६० सालमा थोकर रोजगारीका लागि हङकङ गए र केही वर्षपछि पुनः स्वदेश फर्किए । वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजनीतिक परिस्थिती निकै चुनौतीपूर्ण थियो । पार्टीलाई जीवन्त राख्दै जनतामाझ चुनावी अभियान सञ्चालन गर्नु कठिन बन्दै गएको बेला पनि उनी पार्टीका उम्मेदवारलाई लिएर मतदातामाझ पुगे र पार्टीलाई पुनः आम कार्यकर्ता र जनताबीच उभ्याउन सक्रिय रहे ।
पहिलो संविधानसभा संविधान जारी नगरी विघटन भएपछि वि.सं. २०७० सालमा देशमा दोस्रो संविधानसभा निर्वाचन भयो । यसपटक भने पार्टीले उनलाई नै उम्मेदवार बनायो । त्यस निर्वाचनमा उनी विजय हुन नसके पनि प्राप्त मतलाई उनले सन्तोषजनक मानेका छन् । वि.सं. २०७४ सालको निर्वाचनमा उनी समानुपातिक उम्मेदवार बने । वि.सं. २०७९ सालको निर्वाचनमा जनताले उनलाई उम्मेदवारका रूपमा चाहे पनि उनी स्वयं उम्मेदवार बनेनन् । आफू नउठेकै कारण क्षेत्र नम्बर १ का पार्टी उम्मेदवार दीपकबहादुर सिंहलाई विजय हासिल गर्न सहज भएको उनको भनाइ छ ।
यसबीच राप्रपाको महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित हुनुपरे पनि उनी पार्टी राजनीतिमा निरन्तर सक्रिय रहे । कमल थापाले राप्रपा नेपाल पुनःस्थापना गर्दै अलग भए पनि थोकर भने ‘हलो’ चिन्हकै पुरानै पार्टीमा कायम रहे । हाल उनी राप्रपाको केन्द्रीय सदस्य छन् । साथै, पार्टीको प्रजातान्त्रिक जनजाति विभागका सदस्य सचिव र संघीय निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्षका रूपमा पनि क्रियाशील छन् ।
विद्यार्थी जीवनदेखि हालसम्मको लामो राजनीतिक अनुभव बोकेका थोकरले आफूलाई मकवानपुर क्षेत्र नम्बर २ का मतदातामाझ परिपक्व उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । जनताको जीवनशैली परिवर्तन गर्दै सर्वाङ्गीण विकासका लागि काम गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ । पछिल्लो समय नेपालमा देखिएको जेनजी अर्थात् नवपुस्ताको आन्दोलनको भावनाअनुसार विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसदमा रहेर प्रभावकारी भूमिका खेल्ने चाहनासहित उनी चुनावी अभियानमा सक्रिय छन् ।







