मकवानपुर । गत २३ र २४ मा भएको जेनजी आन्दोलनपछिको राजनीतिक तरंगसँगै आउँदो २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन यसपटक विगतजस्तो गठबन्धनको छायाँमा छैन । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै दल आफ्नै बलबुतामा चुनावी मैदानमा उत्रिएका छन् । यस कारण यो निर्वाचन दलहरूको वास्तविक हैसियत मापन गर्ने कसीका रूपमा पनि हेरिएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ मा नेकपा (एमाले) का तर्फबाट रामेश्वर राना उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट रानाले उम्मेदवारी पाउने चर्चा व्यापक थियो । तर अन्तिम समयमा एमालेले राप्रपा नेपालका कमल थापालाई सूर्य चिन्ह दिएर उम्मेदवार बनायो । त्यो निर्णयले रानालाई मात्र होइन, उनलाई विश्वास गर्ने धेरै कार्यकर्तालाई पनि चोट पुगेको थियो । न त्यो चुनाव कमल थापाले जिते, न त रानाले अवसर नै पाए । यसपटक भने रानाले विगतको त्यही चोटमा मल्हम लगाउँदै आफ्नै पार्टी एमालेको आधिकारिक उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् । चुनाव जित्ने दृढ आत्मविश्वाससहित उनी अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर-१ मा रानासहित २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् भने १० जना स्वतन्त्र उम्मेदवार छन् । यस क्षेत्रभित्र हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा तथा बागमती र बकैया गाउँपालिकाका क्षेत्र पर्छन् । मकवानपुर जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेकोमा यस निर्वाचन क्षेत्रमा मात्र एक लाख ५८ हजार ४३५ मतदाता छन् । यही ठूलो मतदाता समूहका बीचमा रानाले आफ्नो राजनीतिक हैसियतको परीक्षा दिँदैछन् । यस क्षेत्रमा मुख्य रुपमा नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील सांसद समेत भइसकेकी र गत चुनावमा यही क्षेत्रमा पराजित बन्न पुगेकी महालक्ष्मी उपाध्याय डिना, नेपाली कम्युनिष्ट पार्टीबाट युवा उम्मेदवार विजय गौतम, राप्रपाबाट यसअघि जितेका दीपकबहादुर सिंह र अहिले एक प्रकारको लहर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमका बीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
राना आफू चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनी भन्छन्, ‘देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेदवार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।’ उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले नै गरेको उनको दाबी छ । ‘हामीले प्राप्त गरेका उपलब्धि जोगाउन र अझ अघि बढाउन एमालेले बहुमत ल्याउन आवश्यक छ,’ उनी भन्छन् । सबै प्रतिस्पर्धीसँग स्वस्थ प्रतिस्पर्धामार्फत निष्पक्ष जित निकाल्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
रानाको राजनीतिक यात्रा लामो र संघर्षपूर्ण छ । उनी २०३६ सालमा विद्यार्थी आन्दोलनबाट प्रभावित भई अनेरास्ववियुसँग जोडिए । २०३७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा संगठित भएका राना २०३८ सालमा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको उपाध्यक्ष बने । २०४० सालमा जिल्ला अध्यक्ष चुनिएका उनी २०४२ सालमा काठमाडौँमा सम्पन्न अनेरास्ववियुको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बने ।
त्यसपछि उनको राजनीतिक यात्रा पार्टी र राज्यका विभिन्न तहमा फैलिँदै गयो । २०४२ सालमा नेकपा (एमाले) हेटौँडा नगर कमिटी सदस्य, २०४६ सालको जनआन्दोलनमा मकवानपुरमा आन्दोलनको नेतृत्व, २०४७ सालमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय तयारी समिति सदस्य, २०४९ सालमा जिल्ला विकास समितिको जननिर्वाचित सदस्य हुँदै उनी अगाडि बढे । २०५१ सालमा एमाले मकवानपुरको पार्टी सचिव बनेका राना २०५४ सालमा जिल्ला समितिको जननिर्वाचित सभापति भए । अध्यक्ष प्रणाली विकासपछि उनी दुई कार्यकालसम्म एमाले मकवानपुरको अध्यक्षको जिम्मेवारीमा रहे ।
प्रदेश र केन्द्रमा पनि उनको भूमिका निरन्तर रह्यो । २०७० सालमा बागमती प्रदेश कमिटी सदस्य, २०७२ मा एमाले केन्द्रीय कमिटी सदस्य, २०७८ सालमा चितवनमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्य तथा पार्टी मकवानपुरको इन्चार्ज बने । २०८२ सालमा सम्पन्न पार्टीको १२ औँ राष्ट्रिय महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य निर्वाचित भई हाल जिल्ला इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । २०८० सालमा उनी भूमि आयोग मकवानपुरको अध्यक्षका रूपमा पनि कार्यरत रहे ।
पार्टी राजनीति, सामाजिक जिम्मेवारी र राजकीय भूमिकामा आफूलाई शालीन ढंगले स्थापित गर्दै आएका राना यसपटक प्रतिनिधिसभा सदस्य बन्ने सपना बोकेर मैदानमा छन् । विगतका अनुभव, संगठनात्मक पकड र आत्मविश्वासले उनलाई सफलता दिलाउला ? मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ का मतदाताको मन जित्दै उनी सांसद बन्लान् ? यसको अन्तिम फैसला भने अब मतदाताकै हातमा छ ।

