टुकी बालेर पढे, प्रविधीमा शिखर चढे !

धुलाम्य बाटो, जुनेली रातमा मन्द उज्यालो टुकीको भरमा बित्ने जीवन र वर्ष दिनको अन्नले पनि पेट भर्न नसक्ने कठिनाइ झेल्दै उनी हुर्किए । विकट गाउँमा जन्मी हुर्किएको एक युवा आज चर्चामा छन् । उनी हुन् मकवानपुरको दुर्गम कैलाश गाउँपालिका–४, पकनी गाउँका वासु अर्याल । गोगने, पकनी र कटहरेका बासिन्दालाई रेडियोको समाचार सुन्ने सौभाग्य पनि थोरै घरमै सीमित थियो । प्रविधिको विकास उनीहरूका लागि मानौँ कुनै कथाजस्तै कुरा थियो । त्यही गाउँमा जन्मिएका एक बालक, जसले सायद बिजुलीको बत्ती पहिलो पटक किशोर वयमा देखे, अहिले विश्वको सबैभन्दा सानो कम्प्युटर चिप निर्माण गर्ने टोलीमा अग्रस्थानमा छन् । वासु साधारण कृषक परिवारका कान्छा छोरा हुन् । विद्युत्, सडक र प्रविधिबिहीन वातावरणमा हुर्किँदै पनि उनी भित्र पढाइप्रतिको असाधारण लगनशीलता थियो । पकनीको व्यास माध्यमिक विद्यालयबाट चौथो कक्षा पास गरेपछि २०५० सालको भीषण बाढीले गाउँ तहस-नहस बनायो र अरू कैयौं परिवारसँगै वासुको परिवारले पनि बसाइँ सरेर मनहरी–९, ज्यामिरेमा नयाँ जीवन सुरु गर्‍यो ।

पूर्व-पश्चिम राजमार्गको छेउमा भए पनि त्यतिबेला प्रविधि र आधुनिकताबाट अझै टाढा थियो ज्यामिरे। तर वासुका लागि त्यो नयाँ संसार थियो, जहाँ उनले पढाइलाई आफ्नो जीवनको एकमात्र लक्ष्य बनाएका थिए । उनले महेन्द्रकिरण माध्यमिक विद्यालयबाट २०५६ सालमा एसएलसी (हालको एसईई) उत्कृष्ट अंकका साथ उत्तीर्ण गरे-८६ प्रतिशत अंक ल्याएर । त्यो समय सामुदायिक विद्यालयका विद्यार्थीका लागि असाधारण उपलब्धि थियो । वासु जिल्ला भरिमा सबैभन्दा उत्कृष्ट विद्यार्थी बने, र उनको नाम भीमफेदीमा सम्मानका साथ उच्चारण भयो । सिद्धार्थ वनस्थलीले ‘जिल्ला प्रथम विद्यार्थी’को रूपमा उनलाई विशेष पुरस्कारसमेत प्रदान गर्‍यो ।

वासुका बाबु बद्री अर्याल र आमा विष्णुमाया अर्याल सामान्य शिक्षित तर मेहनती कृषक थिए । खेतीपातीमै व्यस्त जीवन बिताउने उनीहरूले सन्तानलाई पढाउन कहिल्यै पछि हटेनन् । ‘दाजुहरूकै प्रेरणाले मैले पढ्नुपर्ने रहेछ भन्ने सिकेँ ।’ बासु सम्झन्छन् । उनका दाजु राजकुमार र जयराम अर्याल दुवै पढाइमा अब्बल थिए । र, उनीहरूकै बाटो पछ्याउँदै वासुले पनि विज्ञानमा करियर बनाउने संकल्प गरे ।
एसएलसीपछि वासुको यात्रा गाउँबाट राजधानीतर्फ मोडियो । उनले त्रिचन्द्र कलेजमा विज्ञान संकायमा भर्ना लिए । सरकारी विद्यालयबाट पढेका भएकाले सुरुवाती दिनहरू उनका लागि कठिन थिए । विशेषगरी अंग्रेजी भाषाका कारण। तर निरन्तर मिहिनेत र आत्मविश्वासले उनले त्यो चुनौती पार गरे । त्रिचन्द्रबाट आईएस्सी र त्यसपछि अमृत क्याम्पसबाट बीएस्सी सकाएर, वासुले त्रिभुवन विश्वविद्यालयबाट २००९ मा रसायनशास्त्रमा एमएस्सी (८२ प्रतिशत अंकसहित) उत्तीर्ण गरे ।

वासुका सहपाठीहरू भन्छन्, ‘उनी सधैं दोस्रो वा तेस्रो स्थानमा रहन्थे, कहिल्यै पढाइमा पछि परेनन् ।’ उनले सन् २०१२ सम्म बागमती मोर्डन कलेज, सुकेधारामा रसायनशास्त्र अध्यापन गरे । र, पछि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) मा सन् २०१६ सम्म शिक्षकको रूपमा काम गरे । शिक्षण पेशामा रहेर नै उनले आफ्नो क्षमता अझ उचाइमा पुर्‍याउने अवसर खोजिरहे । त्यो अवसर उनको जीवनको निर्णायक मोड बन्यो-अमेरिकाको पूर्ण छात्रवृत्तिसहितको पीएचडी ।

सन् २०१६ मा उनले अमेरिकाको युटा राज्यको प्रोभोस्थित ब्रिङ्हम योङ युनिभर्सिटीमा एनालिटिकल केमेस्ट्रीमा विद्यावारिधि अध्ययन सुरु गरे । त्यहाँ उनले न्यानो–फ्याब्रिकेसन रिसर्च प्रोजेक्टमा सहभागी हुँदै आँखाले नदेखिने सूक्ष्म पदार्थहरूको प्रयोगबाट नयाँ वस्तु विकास गर्ने अनुसन्धान सुरु गरे । सन् २०२१ मा उनले आफ्नो पीएचडी पूरा गरे र युनिभर्सिटीमा अनुसन्धानकर्ता (रिसर्चर) को रूपमा काम गर्न थाले । त्यही अनुसन्धानको बाटो हुँदै वासुको करियर विश्वकै चर्चित प्रविधि कम्पनी-इन्टेल कर्पोरेसनसम्म पुग्यो। सन् २०२४ देखि उनी अमेरिकाको ओरेगन राज्यको हिल्सबोरोस्थित इन्टेल कर्पोरेसनमा प्रोसेस इन्जिनियरका रूपमा कार्यरत छन् ।

इन्टेल विश्वकै अग्रणी प्रोसेसर निर्माण कम्पनी हो-जहाँ कम्प्युटर, ल्यापटप, मोबाइलदेखि एआई र डेटा सेन्टरमा प्रयोग हुने ‘ब्रेन’ (चिप) विकास गरिन्छ । वासु अहिले कम्पनीले निर्माण गर्दै गरेको १.८ न्यानोमिटरको अत्याधुनिक प्रोसेसर विकासमा संलग्न छन् । ‘जति सानो प्रोसेसर, त्यति नै उन्नत प्रविधि ।’ वासु मुस्कुराउँदै भन्छन्, ‘हामी अहिले विश्वकै सबैभन्दा सानो र शक्तिशाली चिप बनाउन अनुसन्धान गर्दैछौं ।’
इन्टेलको यो प्रविधि विकसित हुन सके विश्वव्यापी कम्प्युटिङ प्रणालीको स्वरूप नै परिवर्तन हुने अपेक्षा गरिएको छ । प्रोसेसरको गति, शक्ति र स्थायित्व बढाउन वासु र उनको टोली दिनरात अनुसन्धानमा जुटिरहेका छन् ।

वासु भन्छन्,‘इन्टेलमा काम गर्नु गर्वको कुरा हो । यहाँ सिकेका कुरा कुनै दिन नेपालमा पनि उपयोग गर्न सकियोस् भन्ने चाहना छ ।’ उनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा साना स्तरका अनुसन्धान प्रयास भइरहेको तर त्यसलाई ठूला र दीर्घकालीन परियोजनामा रूपान्तरण गर्न राज्य र निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउँछन् ।

हाल वासु वर्षको करिब १ लाख ३१ हजार अमेरिकी डलर (करिब दुई करोड नेपाली रुपैयाँ) आम्दानी गर्छन् । तर उनको दृष्टि पैसामा होइन, प्रभावमा छ । ‘विदेशमा सीप कमाउने मात्र होइन, आफ्नै देशमा सीप फिर्ता लगेर प्रयोग गर्ने सोच हुनुपर्छ ।’ उनी भन्छन् ।
गाउँको टुकी बत्तीको उज्यालोमा पढ्दै हुर्किएका एक युवकले आज विश्वका करोडौं मानिसको जीवन सजिलो बनाउने प्रविधि विकासमा योगदान दिइरहेका छन् । यो यात्रा केवल वासुको मात्र होइन । नेपालका हरेक युवाका लागि प्रेरणाको कथा हो, जसले देखाउँछ कि अवसर नभए पनि आँट र लगन भए असम्भव केही छैन ।

वासुका दाजु जयराम अर्याल भावुक हुँदै भन्छन्,‘उनी गाउँका मात्र होइन, देशकै गौरव हुन् । विदेशमा बसेर पनि उनले आफ्नो देशको पहिचान उच्च बनाइरहेका छन् । वासु जस्ता युवाबाट नै नेपालले नयाँ ऊर्जा पाउँछ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.