मकवानपुरको हेटौँडा-५ पिप्लेका सुदिप ठकुरी एक सफल र सम्मानित चस्मा व्यवसायीका रूपमा चिनिन्छन । तर उनको आजको सफलताको मूलमा रहेको कथा संघर्ष, धैर्य, इमानदारी र निरन्तर लगनको कथा हो ।
१६ वर्षको उमेरमा एसएलसी पास गरेका सुदिपसँग न त ठूला योजना थिए, न त बाहिर जाने सोच । घरपरिवारको सामान्य अवस्था र जीवनको प्रारम्भिक जिम्मेवारीले उनलाई छिट्टै कामकाजतिर डोयार्यो । आफ्नै काकाको चस्मा पसलमा बसेर उनले जीवनको पहिलो सीप सिके– मानिससँग व्यवहार गर्ने, धैर्यपूर्वक सेवा दिने र सानो कामलाई पनि सम्मानपूर्वक गर्न सकिने कला । त्यसपछि उनले आफ्नो अनुभवलाई अझ गहिरो बनाउन बिरगंजको केडिया आँखा अस्पताल, परमानिपुरमा काम गरे । त्यहाँ बिताएका आठ वर्षहरूले उनको हातलाई सीपिलो मात्र बनाएन, आँखाको उपचार र दृष्टि सम्बन्धी ज्ञानलाई व्यावहारिक रूपमा उचाइमा पुर्यायो । चस्मा बनाउने, फ्रेम मिलाउने, ग्राहकको आवश्यकतालाई बुझ्ने, आँखाको समस्या के हो जस्ता सबै कुरा सुदिपले अभ्यासमै सिके ।
सन् २००८ (वि.सं. २०६५) मा उनी हेटौंडा फर्किए । उही वर्ष हेटौंडा-१० मा तिलगंगा आँखा अस्पताल स्थापना भयो । अस्पताल नजिकै उनले आफ्नो सपनाको पहिलो जग राखे-‘शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्स’ । सुरुमा पसल सानो नै थियो, ग्राहक पनि धेरै थिएनन् । तर उनले एउटै कुरा अटल रूपमा थामे-इमानदार सेवा । ‘विश्वास कमाइन्छ, किनिन्छैन ।’ उनी भन्छन् ।
दैनिक चस्मा काट्दै, मिलाउँदै, बनाउँदै, गलत भयो भने फेरि गर्दै, उनले आफ्नो पेशालाई केवल व्यवसाय होइन सेवा ठान्न सिके। समयसँगै ग्राहकको विश्वास बढ्दै गयो। राम्रो कामको परिचय फैलिदै गयो। र एक्लै सुरु गरिएको पसल विस्तार हुँदै आज वरिपरि उनका आठवटासम्म शाखा सञ्चालनमा छन् ।
करिब एक वर्षअघि उनले हेटौंडा-४, स्कुल रोडमा ‘आइ अप्टिक एण्ड केयर सेन्टर’ स्थापना गरे । यो अब साधारण चस्मा पसल मात्र होइन-दृष्टि परीक्षण, डाक्टरको परामर्श र आधुनिक लेन्स-फ्रेम सेवासमेत उपलब्ध गराउने व्यवस्थित केन्द्र हो । यस यात्रामा उनकी जीवनसाथी अनिता गोदार पनि पूर्ण रूपमा संगै उभिएकी छन् । दुवैले मिलेर सेवा, व्यवसाय र परिवार सबैलाई एकैसाथ सन्तुलनमा अघि बढाइरहेका छन् । २४ वर्षको निरन्तर पेसागत यात्रामा सुदिपले सिके-अवसर खोज्ने होइन, सिर्जना गर्ने हो । उनी भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन । यहाँ पनि मेहनत गरे सम्मान र सफलता दुवै पाइन्छ । समस्या हाम्रो सोचमा हो, हामी तत्काल, छिटो, धेरै चाहन्छौँ । तर सानो कामबाट सुरु गर्ने धैर्य राख्न सके सफलताको बाटो यहीं छ ।’
हेटौँडाको व्यवसायिक क्षेत्रमा उनले बनाएको पहिचान केवल नाम र प्रतिष्ठामा सीमित छैन । उनले युवा पुस्तामा आत्मनिर्भर बन्ने सन्देश प्रशस्त छाडेका छन् । सुदिपका लागि सफलता भनेको धन मात्र होइन-ग्राहकको विश्वास, पेशाप्रति सन्तोष, परिवारमा हार्दिकता पनि हो ।







