५० वर्षदेखि आरनमा देखिएको सपना

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, फारलाइनको एउटा सानो गल्लीको छेउमा अवस्थित एउटा पुरानो आरन अहिले पनि नयाँ ऊर्जा र सोचका साथ बलिरहेछ । फलाम पिटिँदा बज्ने टकटक आवाज, धुवाँले ढाकिएको छानो र कोइला, आगो र पसिनाको गन्धले भरिएको यो आरन केवल एउटा काम गर्ने थलो मात्र होइन, तीन पुस्तालाई जोड्ने परिश्रम र परम्पराको दस्तावेज बनेको छ ।
हजुरबुबा खिलबहादुर विश्वकर्माले करीब ५० वर्षअघि सुरु गरेको यो आरन अहिले नाति दिनेश विश्वकर्माको हातबाट आधुनिक स्वरूपमा विकसित हुँदैछ । सानो काठको ढोका खोलेपछि आरनमा पस्दा देखिने तस्बिर भने अझै पनि पुरा नै लाग्छ, तर त्यसको भित्रि सार अब फरक छ । खलातीको हावा दिने पुरानो चक्कालाई आधुनिक बोटे ब्लोअरले प्रतिस्थापन गरिसकेको छ, हातले कुट्ने पद्धति ग्रेडर र ओल्डिङ मेसिनमा रूपान्तरण भइसकेको छ ।

आरनको यही विकासक्रमले विश्वकर्मा परिवारका तीन पुस्तालाई जोडेको मात्र छैन, थुप्रै स्थानीय युवाका लागि रोजगारीको आशा पनि जगाएको छ । अहिले यहाँ छ जना स्थानीय युवा दैनिक काममा संलग्न छन् । उनीहरूका लागि यो आरन रोजगारको माध्यम मात्र होइन, गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासको केन्द्र बनेको छ । उमेश विश्वकर्मा जस्तै युवाले विदेश जाने योजनालाई त्यागेर यतै सीप प्रयोग गरेर बाँच्न थालेका छन् । उनले भने, ‘कतार जान टिकट तयार थियो, यता काम पाइयो र घरमै केही गर्न सकिन्छ भन्ने लाग्यो। अहिले सन्तुष्ट छु ।’ आरनमा तयार हुने कृषि औजारहरू हसिया, कोदालो, कचिया, बन्चरो, चुप्पी, कैँची, चुलेसी जस्ता सामग्री गाउँगाउँका किसानसम्म पुग्ने गरेका छन् । पहिले गाउँमै सीमित व्यापार गर्ने आरन अहिले मकवानपुर, चितवन, धादिङ, काठमाडौं, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकसम्मको बजार विस्तारमा सफल भएको छ । यसमा दिनेशको नयाँ सोच र प्रविधिप्रति रुचि प्रमुख कारण हो ।

आरनलाई व्यवसायिक रूपमा विस्तार गर्न उनले बागमती प्रदेश सरकार अन्तर्गत प्रदेश युवा परिषद्बाट ५० हजार रुपैयाँ अनुदान प्राप्त गरी नयाँ उपकरण खरिद गरे । पाँच लाख रुपैयाँको लगानीबाट सुरु भएको यो सानो आरन अहिले ‘आधुनिक कृषि औजार कारखाना’को रूपमा दर्ता भइसकेको छ । सामाजिक सञ्जालबाट प्रचारप्रसार, अनलाइन अर्डर र क्युआर कोडमार्फत भुक्तानी सुविधा आरनले अहिलेको समयमा आफूलाई अनुकूल बनाउन सिकेको छ । यही आरनलाई अब ‘कृषि औजार नवप्रवर्तन केन्द्र’का रूपमा विकास गर्ने दिनेशको सपना छ । आधुनिक डिजाइनको औजार उत्पादन, किसानसँग सिधा समन्वय, र गाउँका युवालाई तालिम दिने संयोजनका साथ उहाँ योजनाबद्ध रूपमा अघि बढ्न चाहन्छन् । आरन व्यवसायको सफलताले बिश्वकर्मा समुदायको सामाजिक हैसियतमा पनि परिवर्तन ल्याएको छ । पहिले आरन पिट्ने मान्छेलाई हेप्ने प्रवृत्तिमा परिवर्तन आएको छ, अहिले भने विद्यालय, समाज र वडास्तरमा सम्मान गरिने अवस्था सिर्जना भएको छ । ‘हामी गर्व गर्छौं कि हामी फलाम पिट्छौँ,’ दिनेश भन्छन्, ‘अब लुकाउने होइन, देखाउने समय हो, कि हामी सीपयुक्त छौं र यही सीपबाट देश बनाउन सक्छौं ।’

फारलाइनको यो आरन केवल एक सानो कारखाना होइन, एक विचार हो–परम्परा र प्रविधिको मिलनबाट आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिने । आरनको आगो अझै निभेको छैन, बरु दिन प्रतिदिन बलिरहेको छ । हजुरबुबाले थालेको र बाबुले साँचिएको सीपको यो यात्रा अहिले नातिको जोश, सोच र दृष्टिले फराकिलो बनिरहेको छ । यो आरन आफ्नै भूमिमा टिकेर सपना देख्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.