वनकरियाको फेरिएको जीवनशैली

मकवानपुर । मकवानपुरको मनहरी-४ मुसेधाप, वनकसिया बस्तीमा अठार वर्षदेखि सुकुम्बासीका रूपमा वनकरिया समुदाय बसोबास गर्दै आएका छन् । लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । उनीहरु जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा उनीहरुले सामूहिक लालपुर्जाको माग गर्दै आएका छन् । मुसेधापमा २५ परिवारमा ९३ जना वनकरिया अहिले बसोबास गरिरहेका छन् ।

नेपालका लोपोन्मुख १० जातिमध्ये वनकरिया एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका नागरिक अहिले मकवानपुरको मनहरि गाउँपालिका-४ वनकरिया बस्तीमा बस्छन् । यो बस्तीकी मुखिया हुन्, सन्तोषी वनकरिया । अहिले ६५ वर्षकी उनको जीवनशैली परिवर्तन भएको छ । उनलाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको सम्झना छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । नौ सन्तानकी आमा उनलाई अहिले पनि उही अवस्थाको जीवन र सुत्केरी अवस्थामा कटाएका कहालीलाग्दा दिनहरूले झस्क्याउने गर्छ ।

सन्तमायाले २२ वर्षसम्म वनमा फिरन्ते जीवन बिताइन् । चेपाङको छोरी भएकाले विवाहभन्दा अगाडि भने उनी बस्तीमा नै बस्ने गरेको र वनकरियासँग कन्दमूल खोज्न जाँदा मन परेर उतै विवाह गरेर बसेको बताउँछिन् । उनले नौ सन्तान जन्माइन् । उनी भन्छिन्, ‘चार सन्तान वनमा र पाँच सन्तान बस्तीमा जन्माए, घना जङ्गलबीचमा त्यो बासस्थानको ठेगान नभएको, मान्छे मरेपछि खोल्सो कटेर बस्ने चलनले गर्दा फिरन्तै भएका थियौँ ।’ फिरन्ते जीवनबाट हालको जीवनसम्म आइपुग्दा निकै कष्ट भोगेको सन्तमायाको अनुभव छ । वर्षमा तीन महिना गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो खनेर खाए पनि बाँकी समय खानेकुरा खोज्नका लागि पुरुषले माछा मार्ने र महिलाले कुचो बाँध्ने काम गर्ने गरेका छन् । उनी आफ्ना विगत सुनाउँछिन्, ‘माछा र कुचो गाउँमा लगेर बेच्दा पनि कहाँ खान पाउनु र रु पुग्दैनथ्यो । बालबच्चा नि धेरै हुन्थे ।’ वनकरियाको मुख्य खाना खनायो, नेमारो, च्याउ, माछा र कुरिलो हो । केराको पातले बनाएको छाप्रो अनि केराकै पात लगाउने गरेको सम्झना गर्दै मुखिया सन्तमायाले जङ्गलको झारपात नै औषधिका लागि प्रयोग हुने गरेको बताइन् । उनले आफू कता जन्मेको थाहा छैन तर जङ्गलमा नै नै विवाह भएर २० वर्ष बिताएको मात्र याद छ । विवाहोत्सव वा चाडपर्वमा पनि गिठ्ठा नै मुख्य खान्कीका रूपमा रहेको सन्तमाया बताउँछिन् ।

वनकरिया समुदायमा विवाह, जन्म, नामकरण, मृत्युबाहेक अन्य संस्कार नगर्ने चलन छ । मृत्युपछि बस्ने स्थान सरेर घरमा धेरै जहान हुने १३ दिन र नहुनेले सात दिनमा काजकिरिया गर्ने गरेको उनको भनाइ छ । बच्चा जन्माउँदा पनि सात दिनमा नै तितेपातीको पानी र सुनपानी छर्केर चोख्याने गरेको उनको भनाई छ । सानै उमेरमा विवाह गरेकी सन्तमायाको जीवन वनमा नै सीमित रहन पुग्यो । विस्तारै बाहिरी मान्छेसँग भन्दा जनावरसँग डर नलाग्ने उनको भनाइ छ । खासगरी महिनावारी र सुत्केरी अवस्थामा गाह्रो भएको उनी सम्झिन्छन् । वनकरिया समुदायका बच्चाले पनि आमाको बाहेक दूध खान नपाएको उल्लेख गर्दै सन्तमायाले गाईभैँसी पालेर दूध, दही भाँडाभरि हुँदा छोराछोरी साना हुँदा खान नपाएको सम्झँदै रुन मन लाग्ने उनको भनाइ छ । दुई दशक जङ्गलमा बिते पनि हाल घरमा बस्न पाउँदा सन्तमायालाई खुसी मिलेको छ । अझै कहिलेकाहीँ वनको याद आउँदा बसेको स्थान हेर्न जाने गरेको उनी सुनाउँछिन् । वनमा कन्दमूल र कहिलेकाहीँ साँटेको पिठो तथा चामलका भरमा दिन काट्दा खेती गर्ने र गाईवस्तु पाल्नेबारे थाहा नभएको सन्तमायाको भनाइ छ । उनीसँग गाउँमा जन्मेर वनकरिया जातिका व्यक्तिसँग विवाह गरेपछि २० वर्ष जङ्गलमै बिताएको र अहिले फेरि गाउँमै बसेर समुदायको अगुवाइ गर्दाको अनुभव छ ।

सन्तमाया हाल खेती गर्ने, भैँसी पाल्नेमात्र होइन, साबुन उत्पादनमा पनि जोडिएकी छिन् । वनमा आधारित जीवनशैली भएका आफ्नो समुदायलाई मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछि त्यहाँ कुचो काट्न जाँदा पनि सेनाले समातेर लगेको बताउँदै हाल आफ्नै गाउँ र मध्यवर्ती क्षेत्रको बाहिर जताततै पाइने तितेपाती, घिउकुमारी, निमजस्ता जडीबुटीबाट साबुन उत्पादन गरेर आम्दानीमा जोडिएको उनी बताउँछिन् । सन्तमायासँगै बस्तीका महिलाले पनि खोला किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनकरिया साबुन उद्योग सञ्चालनमा ल्याएर हाल उनीहरु उद्यमी बनेका छन् । विसं २०६२ मा जिल्ला विकास समति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया अहिले आत्मनिर्भर हुनका लागि सन्तानलाई विद्यालय पठाउनेदेखि सकेको काम गर्ने गरिरहेका उनले बताइन् । उनले जङ्गल जीवनमा जुन दुःख काटिएको थियो त्यो आफ्ना छोराछोरीलाई नपरोस् भनेर प्रयन्त गरिरहेको बताइन् । अन्न खानका लागि धेरै मेहेनत गर्नुपरेको बताउँदै सन्तमायाले भनिन्, ‘अन्न खान रहर लाग्दा लोग्ने मान्छेले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने सम्झँदै छोराछोरीले खाना खान पाइरहेकामा उनले खुसी व्यक्त गरिन् ।

वनकरिया समुदायले सञ्चालन गरिरहेको उद्यममा स्थानीय सरकार र ग्रीन फाउन्डेसन नेपालले सहयोग गरिरहेको छ । उनीहरुले वनकरिया साबुन उद्योग सञ्चालन गरिरहेका छन् । मुखिया सन्तमायाका अनुसार साबुन बनाउन मेहेनत परे पनि कच्चा पदार्थ गाउँ वरपर नै पाइन्छ । यहाँ उत्पादन गरिएको साबुन घाउखटिरा, चिलाउने समस्या र छालाको रोगका लागि राम्रो हुने उनी बताउँछिन् । उत्पादन वृद्धि र बजारीकरण गर्न समस्या हुने भएकाले वनमा आधारित उद्यम विकासका लागि ग्रिन फाउन्डेशन नेपालले सहयोग गरिरहेको मुखिया सन्तमायाले बताइन् । जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरूमा क्रमशः परिवर्तन देखिएको छ ।

आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदाबाट पहिलोपटक एसइई परीक्षा ९२०७२० उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमाया बताउँछिन् । अहिले सरकारले वनकरिया समुदायलाई जनही मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.