टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान औपचारिक रुपमा सुरु गरिएको छ ।

डिजिटल प्रविधि, सिर्जनात्मक सामग्री र ऐतिहासिक महत्त्वका विषय उजागर गरी नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, सम्पदा तथा विविध पर्यटकीय अनुभव विश्वभरिका दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।

नेपाल सरकारको सहकार्यमा पर्यटन बोर्ड र टिकटकले आयोजना गरेको अभियान सुरुवात कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथि थिए । सन् २०२६ अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, उद्यमी, व्यवसायी तथा समुदायलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।

अभियान अन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गरी आफ्ना अनुभव विश्वव्यापी दर्शकमाझ साझा गरिरहेका छन् । उनीहरु अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने कार्यक्रम छ ।

पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग टिकटकको ‘कोलाब’ फिचर मार्फत सहकार्य गर्दै नेपालको मौलिक पहिचान र स्थानीय दृष्टिकोण प्रवर्द्धन गर्ने छ । विभिन्न पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) समेत गरिने छ ।

टिकटकका मिडल इस्ट, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले यस सहकार्यले नेपालको पर्यटकीय सम्भावना विश्वसामु पुर्‍याउनुका साथै स्थानीय सिर्जनाकर्मी र साना व्यवसायलाई डिजिटल अर्थतन्त्रबाट लाभ लिन सहयोग पुग्ने बताए ।

यसअघि टिकटक र नेपाल पर्यटन बोर्डको सहकार्यमा तीन सयभन्दा बढी स्थानीय पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरी टेलिङ तालिम प्रदान गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.