काठमाडौं । नेपालीहरूको महान् पर्व तिहार नजिकिएको छ । उज्यालोको पर्वका रुपमा चिनिने तिहारमा विशेषगरी लक्ष्मीपूजाको दिन देशभर झिलिमिली बनाउने प्रचलन छ । तिहारको लक्ष्मीपूजाका दिन सबैभन्दा धेरै विद्युत् खपत हुने गरेको छ ।
लक्ष्मीपूजाका दिन नेपाल विद्युत् प्राधिकरणले विद्युत् लोड व्यवस्थापनका लागि कसरी तयारी गरेको छ भन्ने विषयमा आम उपभोक्ताको चासो देखिएको छ । विगतमा लक्ष्मीपूजाका दिन अत्यधिक विद्युत् माग हुने गरेको छ । यस वर्ष प्राकृतिक विपत्तिले केही चुनौती थपेको भए पनि विद्युत् आपूर्तिमा कुनै समस्या नआउने प्राधिकरणले स्पष्ट पारेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिका अविरल वर्षा तथा पहिरोका कारण जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीकै कारण ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ ।
अन्य साना–ठूला आयोजनाहरु र प्रसारण लाइनमा समेत बाढीपहिरोले क्षति पुर्याउँदा विद्युत् उत्पादन र आपूर्तिमा केही समस्या उत्पन्न भएको थियो ।
तर, प्राधिकरणले तिहारका दिन विद्युत् प्रणालीमा समस्या आएर झ्याप्प–झ्याप्प बत्ती जाने अवस्था हुन नदिन सम्पूर्ण तयारी गरेको जनाएको छ । प्राधिकरणले उत्पादन घटे पनि कुशल व्यवस्थापनका कारण तिहारमा विद्युत् आपूर्तिमा कुनै नकारात्मक प्रभाव नपर्ने बताएको छ ।
तिहार र लक्ष्मीपूजाको समयमा घरायसी प्रयोजनका लागि बत्ती तथा अन्य विद्युतीय उपकरणको प्रयोग ह्वात्तै बढ्ने गर्छ । घर, चोक र गल्लीहरू झिलिमिली बनाइन्छन् ।
तर, यही समयमा देशका अधिकांश ठूला उद्योग र कलकारखाना पूर्ण रुपमा बन्द हुने भएकाले प्रणालीमा अत्यधिक मागको चाप नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ बताउँछन् ।







