काठमाडौं । नेपाली क्रिकेटको उत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन भएको छ ।
प्रधानमन्त्री बालेन शाहले आज सोमबार तेस्रो सिजनको उद्घाटन गरेका हुन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिडेका छन् । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
एनपीएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट अनुमति पाएसँगै विश्वस्तरीय स्टार खेलाडीहरु यसपटक एनपीएलको मैदानमा उत्रिँदैछन् ।
तेस्रो संस्करणमा आइपुग्दा एनपीएल विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ । आईसीसीले जुनसुकै खेलाडी पनि ल्याउने अनुमति दिएको छ ।
यसअघि एक सिजनमा ४ टोलीले एक–एक एक्टिभ टेस्ट प्लेयर ल्याउन पाउँथे । तर यस पटक यो प्रावधान हटेको छ । जसका कारण अस्ट्रेलियाका ओपनर डेभिड वार्नरदेखि वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल एनपीएलको मैदानमा उत्रिने छन् ।
पहिलो सिजनमा भुइँमा बसेर हेरेका दर्शकले दोस्रो सिजनमा प्यारापिटमा बसेर फ्लडलाइटसहित खेलको अवलोकन गरेका थिए । अहिले डीआरएससहित स्टार खेलाडीको खेल हेर्ने अवसर नेपाली समर्थकले पाउने छन् ।







