निर्वाचन कार्यालयले मकवानपुरका ३४७२ मतदाताको नाम हटायो

हेटौंडा । नागरिकता परित्याग गरेका, मृत्यु भएका र दोहोरो नाम दर्ता भएका करिब साढे ३ हजार मतदातालाई प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरको मतदाता नामावली सूचीबाट हटाएको छ ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार सबैभन्दा धेरै मृत्यु दर्ता भएका १ हजार ९६४ मतादातालाई कार्यालयले सूचीबाट हटाएको हो । वडा कार्यालयहरुबाट प्राप्त मृत्यु दर्ताका आधारमा त्यस्ता नाम हटाएको ढकालले बताए ।

दोहोरो मतदाता नामावली भएका १ हजार ५०२ मतदाताको नाम हटाएको छ । ‘निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो नाम भएकाहरूलाई हटाएको हो,’ उनले भने ।

त्यसैगरी नागरिकता त्यागेका ६ जनाको नाम पनि कार्यालयले सूचीबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागेको विवरणका आधारमा उनीहरूलाई सूचीबाट हटाएको निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।

निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम मतदाता नामवाली सूचीबाट हटाइएको छ । निर्वाचन कार्यालयले हटाएको नामावली प्रकाशित गरेको छ । त्यसबारेमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

निर्वाचन आयोगले अन्तिम नामावली ३० असोजमा जारी गर्ने जनाएको छ । गत फागुनमा भएको संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता थिए । मकवानपुरमा २ निर्वाचन क्षेत्र र १० पालिका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.