काठमाडौं । ७० प्रतिशत नेपालीलाई आवाससम्बन्धी खर्च धान्न बारम्बार कठिन हुने गरेको एक नयाँ अध्ययनले देखाएको छ । त्यति नै अनुपातका नेपालीले अप्रत्याशित आर्थिक संकट वा अन्य समस्या आए आफू बसिरहेको घरमा बसिरहन कठिन हुने वा घरबारविहीन हुनुपर्ने अवस्था आउने चिन्ता व्यक्त गरेका छन् ।
ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट?’ नामक विश्वव्यापी अध्ययन प्रतिवेदनअनुसार, आवासको आर्थिक भारसँगै स्वास्थ्य उपचार, परिवारको भविष्य र जलवायुजन्य जोखिमले नेपालीको जनजीवन नराम्ररी प्रभावित भइरहेको देखाएको छ ।
विश्वव्यापी रूपमा आवास खर्च धान्न कठिन हुने औसत ३४ प्रतिशत र अप्रत्याशित समस्याले आवास गुम्ने चिन्ता भएकाहरु ४८ प्रतिशत मात्र रहँदा नेपालको अवस्था भने निकै जटिल देखिएको छ ।
स्वास्थ्य उपचारमा सम्झौता र मानसिक तनाव
आवासको बढ्दो आर्थिक दबाबले नागरिकहरूको स्वास्थ्य सेवामाथिको पहुँचलाई समेत प्रभावित बनाएको छ । उक्त सर्वेक्षणमा सहभागी २८ प्रतिशत उत्तरदाताले घरसँग सम्बन्धित आर्थिक दबाबका कारण स्वास्थ्य उपचार लिन ढिलाइ गरेको वा उपचार नै टारेको बताएका छन् । विश्वव्यापी रूपमा यस्तो बताउनेको औसत १३ प्रतिशत मात्र छ ।
त्यसैगरी, ३६ प्रतिशतले घरको अत्यावश्यक मर्मतसम्भारको काम पछाडि धकेलेका छन् भने २१ प्रतिशतले खाद्यान्न सहायतामा भर पर्नुपरेको छ । विश्वव्यापी रूपमा खाद्यान्न सहायतामा भर पर्नेको दर ७ प्रतिशत मात्र छ ।
सर्वेक्षणमा सहभागी ६८ प्रतिशत नेपालीले आवासको अवस्था नै आफ्नो जीवनको सबैभन्दा ठूलो मानसिक तनावको कारण भएको बताएका छन् । विश्वव्यापी औसत भने ३५ प्रतिशत मात्र छ । आवास खर्च धान्नकै लागि विगत १२ महिनामा ८८ प्रतिशत नेपालीले आफ्ना अन्य आवश्यकता र खर्चहरू कटौती गर्नुपरेको तथ्य प्रतिवेदनमा उल्लेख छ ।
परिवार र बालबालिकाको भविष्यमा असर
महँगो आवास खर्चले परिवार सुरु गर्ने र बालबालिकालाई राम्रो अवसर उपलब्ध गराउने निर्णयमा समेत गम्भीर असर पारेको छ । नेपालमा ७२ प्रतिशत उत्तरदाताले आवासको खर्चका कारण परिवार सुरु गर्नेबारे निर्णय लिन कठिन हुने बताएका छन् । विश्वव्यापी रूपमा यो दर ५६ प्रतिशत छ ।
बालबालिका भएका उत्तरदातामध्ये ७३ प्रतिशतले घरको खर्चले आफ्ना बालबालिकालाई उपलब्ध गराउन सक्ने अवसर सीमित पार्ने चिन्ता व्यक्त गरेका छन् । साथै, ७१ प्रतिशत नेपालीले आफू अहिले बसिरहेको घरमा निरन्तर बसिरहँदा आफ्ना कतिपय सपना र आकांक्षाहरु माया मार्नुपरेको गुनासो गरेका छन् ।
चरम मौसम र असुरक्षित बसोबासको चिन्ता
आर्थिक भारसँगै चरम मौसम (बाढी, पहिरो आदि) र असुरक्षित बसोबासको चिन्ता पनि नेपालमा उच्च देखिएको छ । सर्वेक्षणमा सहभागी ७२ प्रतिशत नेपालीले चरम मौसमी घटनाका कारण आफू बस्ने ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन् । विश्वव्यापी रूपमा यस्तो महसुस गर्नेहरू ३० प्रतिशत मात्र छन् ।
आगामी तीन वर्षभित्र चरम मौसमका कारण आफू अहिले बसिरहेको ठाउँमा बस्न झन् कठिन हुने अनुमान गर्ने नेपालीको अनुपात ७० प्रतिशत छ, जुन अध्ययन गरिएका २२ देशहरूमध्येकै उच्च हो ।
सन् २०१५ र २०२३ को विनाशकारी भूकम्पको अनुभव सँगालेका ७६ प्रतिशत नेपालीले कमजोर घरको अवस्थाका कारण आफूलाई असुरक्षित महसुस गर्ने गरेका छन् । यसको विश्वव्यापी औसत ४४ प्रतिशत मात्रै छ।
अध्ययनका अनुसार, ७३ प्रतिशतले असुरक्षित ढोका, झ्याल वा पर्खालका कारण डर लाग्ने बताएका छन् । ७१ प्रतिशतले कुनै असुरक्षित घटना भइहालेमा सम्बन्धित निकाय वा अधिकारीहरूबाट छिटो उद्धार वा प्रतिक्रिया नआउने चिन्ता व्यक्त गरेका छन् भने ७१ प्रतिशतलाई नै आगामी वर्षहरूमा आफ्नो थातथलो छोड्न बाध्य हुनुपर्ने डर छ ।
नीतिगत अभाव र सुकुम्बासी समस्या
प्रतिवेदनले नेपालमा १२ लाखभन्दा बढी मानिससँग सुरक्षित जग्गा वा आवास नभएको र करिब १३ लाख परिवार अनौपचारिक जग्गा वा आवास व्यवस्थामा (सुकुम्बासी वा अव्यवस्थित बसोबासीका रुपमा) बसिरहेको तथ्यसमेत उल्लेख गरेको छ ।
सर्वेक्षणमा सहभागी ७२ प्रतिशत नेपालीले देशको आवास प्रणाली बिग्रिएको वा काम नगर्ने अवस्थामा रहेको बताएका छन् । त्यसैगरी ७८ प्रतिशतले खरिद गर्न सकिने किफायती घरहरूको अभाव रहेको र ७४ प्रतिशतले पहिलोपटक घर किन्नेहरुलाई सरकारको नीतिले पर्याप्त सहयोग नगरेको औंल्याएका छन् ।







