हेटौंडा । नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर बाहेक) मा ४ हजार ४९९ जना प्रहरी परिचालन गरिने भएको छ ।
यात्रुको चाप बढ्ने भएकाले ४६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी ती कक्षमा दैनिक १२६ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरबाहेक बागमती प्रदेशका १० जिल्लामा ‘चाडपर्व सुरक्षा योजना–२०८३’ तयार गरी सुरक्षा व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बताए । चाडपर्व लक्षित यात्रु सहायता कक्ष बसपार्कलगायत नाकामा राख्न थालिएको छ ।
दसैं, तिहार र छठमा बसपार्कमा यात्रुको चाप बढी हुने भएकाले मुख्यगरी बसपार्कमा सहायता कक्ष राखिएको रेग्मीले बताए । उनका अनुसार कार्यालय सुरक्षाका लागि १ हजार ४६५ जना प्रहरी परिचालन गरिनेछ ।
राजमार्गमा ट्राफिक प्रहरीसहित चेकिङ तथा अनुगमनका लागि ५८ वटा ड्युटीमा २११ जना प्रहरी परिचालन गरिने योजना छ। यसैगरी ३१ स्थानमा आकस्मिक चेकिङ गरिने र त्यसका लागि १३८ जना प्रहरी परिचालन गरिने रेग्मीले बताए ।
बजार अनुगमनका लागि १९ वटा टोली परिचालन गरिनेछ । चाडपर्वका अवसरमा आयोजना हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको सुरक्षाका लागि पनि आवश्यक संख्यामा प्रहरी परिचालन गरिने जनाइएको छ ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । तिहारमा हुने पटका प्रयोगलाई नियन्त्रण गर्नसमेत आवश्यक तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुरक्षा योजनाको कार्यान्वयन तथा अनुगमनका लागि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, बागमती प्रदेश प्रहरी गण हेटौंडा र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट प्रहरी परिचालन तथा अनुगमन गरिनेछ। आवश्यकताअनुसार प्रदेशबाट थप प्रहरी टोलीसमेत परिचालन गरिने रेग्मीले जानकारी दिए ।
उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका १० जिल्लामा ७ हजार ३०४ जनाको प्रहरी दरबन्दी छ । त्यसमध्ये ५ हजार ९३४ जना कार्यरत छन् । १८।३४ प्रतिशत अर्थात् १ हजार ३७० दरबन्दी खाली रहेको छ ।







