काठमाडौं । करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । बाँकी दुई मल्टिसर्किट टावर निर्माण सम्पन्न गरेर दसैंलगत्तै प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आइतबार हेटौंडा(ढल्केबर ४०० केभी सबस्टेसन निरीक्षण गर्दै निर्माणाधीन दुई मल्टिसर्किट टावरको प्रगति विवरण लिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारण लाइन अन्तर्गत १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण सम्पन्न भइसकेका छन् । बाँकी दुइटा मल्टिसर्किट टावर पनि निर्माण अन्तिम चरणमा छन् ।
‘१४ वटा टावर तयार भइसक्यो, बाँकी दुइटा टावरको कार्यप्रगति राम्रो छ, १०र१५ दिनमै तयार गरेर चार्ज गर्छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘दसैंलगत्तै चार्ज गर्ने तयारी छ ।’
उनका अनुसार हेटौंडा–ढल्केबर प्रसारण लाइनलाई विद्युत् प्रणालीको ‘ब्याकबोन’ का रुपमा लिइएको छ । यो प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै विद्युत् खपत र निर्यात दुवै बढाउन सहज हुनेछ ।
करिब १२ वर्षदेखि विभिन्न कारण रोकिएको प्रसारण लाइनको बाँकी काम अगाडि बढाउन ऊर्जामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अघि बढाएका थिए । त्यसपछि रोकिएको कामले गति लिएको प्राधिकरणले जनाएको छ ।
मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर प्रसारण लाइनलाई नेपालको ऊर्जा क्षेत्रको ‘मेरुदण्ड’ भएको बताए । उनका अनुसार प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय बन्ने छ ।
हाल करिब ३ सय मेगावाट क्षमतामा विद्युत् प्रवाह भइरहेको यो खण्ड सम्पन्न भएपछि करिब २ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने उनको भनाइ छ ।
हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व(पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने प्राधिकरणको अपेक्षा छ । यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्नसमेत सहयोग पुग्ने छ ।
त्यस्तै वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् देश भित्रै खपत गर्न तथा भारत लगायतसँग हुने अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न पनि प्रसारण लाइन महत्त्वपूर्ण हुने बताइएको छ ।
प्रसारण लाइन सञ्चालनमा आएपछि राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्नुका साथै एक ठाउँमा उत्पादन भएको विद्युत् माग भएका अन्य क्षेत्रमा लैजान सहज हुनेछ । यसले विद्युत् खेर जाने जोखिम घटाउने र मुलुकको विद्युत् व्यापार सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि रोकिएको आयोजनाको अन्तिम दुई टावर निर्माणको काम अहिले तीव्र गतिमा अघि बढिरहेको र १०र१५ दिनभित्र निर्माण सम्पन्न गरी परीक्षण तथा चार्जिङ प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी छ । त्यसअनुसार दसैंलगत्तै हेटौँडा(ढल्केबर ४०० केभी प्रसारण लाइन सञ्चालनमा आउने छ ।







