बागमती प्रदेश प्रहरीका १५ प्रमुखसँग कार्यसम्पादन सम्झौता

हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले मातहतका १५ वटा कार्यालयका प्रमुखसँग आर्थिक वर्ष २०८३\८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख रेग्मीले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, ९ वटा जिल्ला प्रहरी कार्यालय (रसुवा बाहेक), नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बागमती प्रदेश प्रहरी गण हेटौंडा, बागमती प्रदेश प्रहरी अस्पताल, बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाका प्रमुखसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ताले आर्थिक वर्ष २०८२\८३ को वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा गर्दै शान्ति सुरक्षा, प्रहरी कार्य, प्रशासनिक गतिविधि तथा अपराध अनुसन्धानका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जानकारी दिए। समीक्षा अनुसार स्थानीय प्रहरी प्रतिवेदनमा १५ प्रतिशत वृद्धि भएको, सवारी दुर्घटना १७.२९ प्रतिशत र दुर्घटनाबाट हुने मानवीय क्षति १०.५८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, भीड नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला तहसम्म २३१ पटक अभ्यास सञ्चालन गरिएको, दर्ता भएका कसुरसँग सम्बन्धित ५ हजार ७ सय ८४ अभियुक्त तथा शंकितमध्ये ८६ प्रतिशत पक्राउ गरिएको तथा चोरी–डकैती सम्बन्धी ९६.३६ प्रतिशत मुद्दा टुङ्ग्याइएको जनाइएको छ ।

जघन्य तथा गम्भीर प्रकृतिका मुद्दामध्ये २४.०४ प्रतिशत बाँकी रहेका मुद्दा टुङ्ग्याइएको तथा फैसला कार्यान्वयनअन्तर्गत २ हजार २ सय ४२ जना अर्थात् ३९.३० प्रतिशत फरार प्रतिवादी पक्राउ गरिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षका लागि तालिम केन्द्रलाई २१, जिल्ला प्रहरी कार्यालयलाई ५२, ट्राफिक व्यवस्थापन कार्यालयलाई २०, प्रहरी गणलाई १७, प्रहरी अस्पताललाई १८, प्रहरी विद्यालयलाई १७ तथा विपद् व्यवस्थापन गुल्मलाई १२ वटा वार्षिक कार्यसम्पादन गतिविधि प्रदान गरिएको छ ।

कार्यक्रममा मातहत कार्यालयका प्रमुखहरूले वार्षिक कार्यसम्पादन योजनाबारे प्रस्तुति दिएका थिए । सो अवसरमा प्रदेश प्रहरी प्रमुख रेग्मीले सम्झौताको प्रभावकारी कार्यान्वयन, चाडपर्व लक्षित सुरक्षा योजना निर्माण, प्रभावकारी प्रहरी परिचालन तथा विपद् पूर्वतयारी, खोज तथा उद्धार कार्यमा सक्रिय रुपमा परिचालन हुन निर्देशन दिएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.