अस्पतालको अलपत्र भवनको ठेक्का रद्द गर्ने मुख्यमन्त्री थापामगरको चेतावनी

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पतालहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, उपकरण थप तथा सेवा विस्तारलाई निरन्तरता दिएको बताएका छन् ।

चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको अनुगमन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले जनशक्ति अभाव र पर्याप्त भवन तथा भौतिक संरचना नहुँदा अस्पतालले चाहेजति सेवा विस्तार गर्न समस्या भइरहेको बताए । उनले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै अस्पतालको क्षमता विस्तारमा प्रदेश सरकार केन्द्रित रहेको उल्लेख गरेका छन् ।

बकुलहर रत्ननगर अस्पतालको नयाँ भवन निर्माणको म्याद सकिए पनि निर्माण कार्य पूरा नगरेको र निर्माण व्यवसायी सम्पर्कमा समेत नआएको विषयमा प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाई छ । निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारबाही अघि बढाउने तथा बैंक ग्यारेन्टी रोक्ने प्रक्रिया अगाडि बढाइने उनले चेतावनी दिए ।

स्वास्थ्य चौकीका रूपमा रहेको बकुलहर अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको उनले सुनाए । अहिले अस्पतालमा दैनिक औसत १२ सयसम्म बिरामी उपचारका लागि आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले प्रदेशका सरकारी अस्पतालप्रति नागरिकको विश्वास र बिरामीको चाप बढ्दै गएको बताएका हुन् ।

बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु गरिएको बताउँदै उनले आधारभूत अस्पतालहरूमा रहेको जनशक्ति र उपकरणको अभावलाई प्रविधिमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको जनाए । हेटौंडा, भक्तपुर र सिन्धुली अस्पताललाई टेलिमेडिसिन हबका रूपमा विकास गरी २४ घण्टा परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।

मुख्यमन्त्री थापा मगरका अनुसार हाल बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा कुल बजेटको करिब ४.५ प्रतिशत मात्र विनियोजन भइरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार स्वास्थ्य क्षेत्रमा बजेटको हिस्सा १० प्रतिशत पुर्‍याउने लक्ष्यसहित आगामी बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.