प्रेस काउन्सिल अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने पत्रकारको चेतावनी

काठमाडौं । नेपाल प्रेस काउन्सिलका पदाधिकारी र नेपाल पत्रकार महासंघबीच आज गम्भीर वादविदाद भएको छ । पत्रकारका नेताले आफूहरुमाथि धाकधम्की दिएको आरोप काउन्सिल पदाधिकारीले लगाएका छन् ।

लोक कल्याणकारी विज्ञापनको रकम घटाइएको विषयलाई लिएर महासंघ केही दिनदेखि आन्दोलित छ । महासंघका सदस्यहरुले काउन्सिलमा धर्ना दिइरहेका छन् ।

यसै सिलसिलामा आज महासंघको टोलीसँग काउन्सिल पदाधिकारीबीच अनौपचारिक छलफल हुँदा लफडा भएको हो । छलफलमा विशेषतः पत्रकार नेताहरु आक्रामकरुपमा प्रस्तुत भएका थिए ।

यही क्रममा पत्रकार नेता दीपक पाण्डेले प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठलाई टिपेर झ्यालबाट फ्याँक्ने चेतावनी दिएको बताइएको छ । अध्यक्ष श्रेष्ठले यो विषयमा काउन्सीललाई दवाव दिएर केही नहुने भन्दै मन्त्रालय जान सुझाएका थिए ।

‘तपाईंहरुले गलत बाटो रोज्नुभयो । हामी यसको समाधान गर्न सक्दैनौं’ उनले लाचारी देखाउँदै भनेपछि महासंघका प्रतिनिधि आक्रोशित बने ।

‘यदि समस्या समाधान गर्न नसक्ने भए कुर्सीमा बस्ने अधिकार छैन’ भन्दै उनीहरु जंगिएका थिए । यही क्रममा पाण्डेले झ्यालबाट फ्याँक्ने चेतावनी दिएका हुन् । जवाफमा श्रेष्ठले पनि फ्याकेर देखाउन चुनौति दिएका थिए ।

काउन्सिलका ४ जना सदस्यले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । रविराज बराल, उपासना घिमिरे, नम्रता शर्मा र प्रकाशभक्त माथेमाले जारी गरेको विज्ञप्तिमा अध्यक्षको कार्यकक्षमा अपमानजनक व्यवहार भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनसम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा काउन्सिल अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागीबाट काउन्सिलका पदधिकारी र कर्मचारीसमेतलाई अपमानजनक व्ववहार भएकोमा हामी भर्त्सना गर्छौं ।’

छलफल र असहमतिका क्रममा समेत यस्तो धम्कीपूर्ण भाषा स्वीकार्य नहुने उनीहरुले बताएका छन् । काउन्सिलको पदेन सदस्य रहेकी पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माको भने विज्ञप्तिमा हस्ताक्षर छैन ।

नेपाल प्रेससँग कुरा गर्दै शर्माले अनौपचारिक कुराकानीका क्रममा अभद्र व्यवहार भएको स्वीकारोक्ति गरिन् ।

उनले भनिन्, ‘व्यक्तिविशेषले के भन्नुभयो भन्दा पनि महासंघका प्रतिनिधिहरु आक्रामकरुपमा नै प्रस्तुत हुनुभएको थियो । अलिकति अभद्र व्यवहार भएकै हो । यसमा म महासंघ अध्यक्षका हिसाबले क्षमाप्रार्थी छु ।’

आफू महासंघको पनि नेतृत्वदायी पदमा भएकाले विज्ञप्तिमा हस्ताक्षर गर्न नमिलेको तर, बैठक राखेर घटनाको भर्त्सना गर्न तयार रहेको उनको भनाइ छ ।

के हो विवाद ?

सञ्चार मन्त्रालयले नयाँ कार्यविधि बनाएर लोककल्याणकारी विज्ञापनको रकम घटाएपश्चात महासंघका महासचिवको नेतृत्वमा पत्रकारहरुले आन्दोलन गरिरहेका छन् ।

यस कार्यमा काउन्सिल जिम्मेवार रहेको ठहर महासंघको छ । काउन्सिल भने आफूहरुले विज्ञापनको रकम घटाउने निर्णय नगरेको भनेर मन्त्रालयतिर पन्छाउन खोजिरहेको छ ।

नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाल लोककल्याणकारी विज्ञापनको रकम घटाउने काम काउन्सिलले नगरेको बताउँछन् ।

उनले भने, ‘हामीले पत्रपत्रिकाको वर्गीकरण गर्ने हो । लोक कल्याणकारी विज्ञापनको रकम घटाउने निर्णय काउन्सिलबाट कहिले पनि भएको छैन । यो विज्ञापन बोर्डको सिफारिसमा मन्त्रालयले गरेको हो ।’

भुषालका अनुसार महासंघले आन्दोलन गरिरहेपछि आज काउन्सिलले यसको समाधानका विषयमा बोर्ड वैठकमा छलफल गर्ने तयारी गरेको थियो । तर, त्यसपूर्व नै महासंघको टोली अध्यक्षको कार्यकक्षभित्र पसेपछि अप्रिय अवस्था आएको उनको भनाइ छ ।

‘९महासंघका० महासचिवज्यूले भेट्न खोज्नुभएको छ भन्ने सन्देश आएपछि उहाँलाई भित्र बोलाइएको थियो । तर महासचिवसँगै महासंघको टोली नै भित्र छिर्यो र उहाँहरु अलिकति अमर्यादितरुपमा प्रस्तुत हुनुभयो ।’

महासंघकी अध्यक्ष शर्मा लोककल्याणकारी विज्ञापन घटाइएको विषयमा मन्त्रालयले नै काउन्सिललाई देखाएपछि पत्रकारहरुले दवावमूलक कार्यक्रमहरु गरिरहेको बताउँछिन् ।

उनी भन्छिन्, ‘हाम्रो कार्यदललाई मन्त्रीज्यूले काउन्सिलको निर्णय सच्चिएर आयो भने म मान्छु भन्नुभएको रहेछ । त्यसैले महासंघका साथीहरु काउन्सीललाई दबाब दिन जानुभएको हो । यसै विषयमा प्रष्ट पारेर मन्त्रालयलाई पत्र लेख्नका लागि आज ४ बजे बैठक बोलाइएको थियो । म त्यही बैठकमा भाग लिन गएकी थिएँ । तर बैठकपूर्व नै वादविवाद भयो । पछि बैठक बसेर पत्र लेख्ने विषयमा निर्णय भएको छ ।’ (नेपाल प्रेसबाट)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.