चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघीय सरकारसँग समन्वय हुन नसकेको बताएका छन् ।
मुख्यमन्त्री थापा मगरले आज जिल्ला समन्वय समिति चितवनले गरेको स्थानीय तह तथा जिल्ला स्थित कार्यालयहरुको कामको समीक्षा कार्यक्रममा बोल्दै भने, ‘बाढी प्रभावित जिल्लाका जनप्रतिनिहरुले संघीय सरकारमा सम्पर्क गर्ने व्यक्ति नै को हो भन्ने थाहा नभएको भनेर गुनासो गर्नुभएको छ ।’
उनले स्थानीय तहका जनप्रतिनिधिहरुले समन्वयको लागि संघीय सरकारका प्रतिनिधि नभेटेपछि आफूलाई नै समन्वय गरिदिन अनुरोध गरेको पनि बताए ।
उनले बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा त्रिशूली वारिपारि सम्पर्क स्थापित गर्न ७ वटा तुइन सञ्चालन गरिएको, २ वटा बेलिब्रिज र ५ वटा झोलुङ्गे पुल द्रुत माध्यमबाट ठेक्का प्रकृयामा जाने तयारी गरिएको जानकारी दिए ।
उनले बागमती प्रदेशले भोटेकोसी बाढीबाट मृत्यु भएका व्यक्तिको किरियाका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ र मृत्युु भएका व्यक्तिको परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ स्थानीय तहमार्फत दिने गरी निर्णय गरिएको पनि बताए ।
मुख्यमन्त्री थापामगरले चितवनका स्थानीय तहहरुलाई बाढी प्रभावित पालिकालाई सहयोग गर्न अनुरोध समेत गरे ।







