हेटौंडा । दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको छ । हेटौंडा आद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कपडा उद्योग सञ्चालनमा प्रधानमन्त्री कार्यालयले प्रत्यक्ष अग्रसरता लिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको अनुगमनसमेत गरेकी छिन् । मन्त्रीसहितको टोलीको अनुगमनपछि हेटौंडा आद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले कपडा उद्योगलाई छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयबाट हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामासँग कपडा उद्योग सञ्चालनको सम्बन्धमा दुई दिनअघि फोनमार्फत छलफलसमेत भएको छ । प्रधानमन्त्री कार्यालयसँग कपडा उद्योग सञ्चालनमा उपमहानगरको भूमिकाबारे कुराकानी भएको नगर प्रमुख लामाले बताइन् ।
कपडा उद्योग चलाउन उपमहानगरको आगामी आर्थिक वर्षको सबै बजेट हाल्न पनि तयार भएको जवाफ आफूले दिएको लामा बताउँछिन् । प्रधानमन्त्री कार्यालयको अग्रसरताले कपडा उद्योग सञ्चालन हुने विश्वास दिलाएको प्रमुख लामाले बताइन् । ‘यो उद्योग चले मुलुकको आर्थिक उन्नतिमा बल पुग्नेछ । रोजगारी सिर्जनासँगै हेटौंडा र आसपासका क्षेत्र चलायमान हुने छन्,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्यालयको चासोसँगै नगर प्रमुख लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कपडा उद्योगको अनुगमन गरेका छन् । उद्योग मन्त्री गौरीकुमारी यादवले १० जेठमा उद्योगको अनुगमन गरेकी थिइन् ।

मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३र०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएकी छिन् ।
उनले भनिन्, ‘रुग्ण उद्योगहरुमध्ये हेटौंडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ । कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउँछौं ।’
हेटौंडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ बाट सञ्चालित कपडा उद्योगसँगै बुटवलमा धागो कारखाना र बाँकेको नेपालगञ्जमा कपास उत्पादन कारखाना पनि सँगै सञ्चालनमा ल्याइएको हेटौंडा औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी भण्डारीले बताए । उनका अनुसार कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द हुन पुगेका थिए ।
भण्डारीका अनुसार कपडा उद्योग तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । ‘मेसिनहरु केही भएको छैन । केही ठाउँमा मात्रै मेसिनमा खिया लागेको छ । सामान्य मर्मतपछि सञ्चालन हुन्छन् । भवनहरू पनि राम्रो अवस्थामा छन् । केही मर्मत(सम्भारपछि उद्योग पूर्ण क्षमतामा चल्न सक्छ,’ भण्डारीले भने ।
पहिलो पटक उद्योग परिसर सरसफाइ
कपडा उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । त्यसअघि उद्योग परिसरको सुरक्षामा दुई जना हेरालु मात्रै थिए ।
उद्योगका बाहिरी क्षेत्रमा रहेका केही पाटपुर्जा विगतमा चोरी भएको सुरक्षा निकायको रिपोर्ट छ । यो उद्योग एक समय लागुऔषध सेवनकर्ताको अखडा बनेको थियो । सशस्त्र बस्न थालेपछि भने उद्योगको पूर्ण सुरक्षा भएको छ ।

उद्योग बन्द भएको दुई दशक बढी समयपछि पहिलो पटक उद्योगको पूर्ण सरसफाइ सुरु गरिएको छ । सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले एकसाथ उद्योग परिसरको सरसफाइ गरेको सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक निबन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक उद्योगको कंक्रिट संरचनाको पनि सरसफाइ भएको हो । ‘भवनको माथिल्लो भागमा रुख, बिरुवा उम्रिसकेका थिए । अहिले सरसफाइ भएको छ । झाडी फाँड्ने र अन्य सरसफाइको काम जारी छ,’ श्रेष्ठले भने ।








