हेटौंडा । हेटौंडा उपहानगरपालिका–१९ बस्तिपुर स्थित एक होटललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
माउण्ट दिव्यज्योति भोजनालयले दुषित एवं अखाद्यबस्तु बिक्री गरेको र सामान्य मापदण्ड समेत पूरा नगरी खाद्य ऐन विपरीत होटल सञ्चालन गरेको पाइएपछि जरिवानासहित होटल सिलबन्दी गरिएको हो ।
होटलले खानअयोग्य दुषित एवं अखाद्य खाना बिक्री गरेको उपभोक्ताको गुनासोपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, हेटौंडा सहितको टोली अनुगमनका लागि पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले होटलले अखाद्य र सडेगलेको अवस्थाको खानअयोग्य खाना बिक्री गरेपछि जरिवानासहित कारवाही गरिएको जानकारी दिएका छन् ।
होटल अव्यवस्थित, साँघुरो, भान्सा फोहोर, अँध्यारो र अखाद्यबस्तु बढी भएको पाइयो उनले भने, ‘मूल्य पनि अत्यधिक लिने गरेको पाइयो, सेवाग्राहीलाई राम्रो व्यवहारसमेत नगर्ने गरेको गुनासो थियो ।’
दुई लाख रुपैयाँ जरिवानासहित होटलमा सिलबन्दी गरिएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा बयानका लागि हाजिर हुन बोलाइएकोबताए । उनकाअनुसार यसअघि पनि यो होटललाई लापबाही गरेकैकारण २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
होटलका कागजपत्र ठीक भएपनि होटल सञ्चालकले गर्ने व्यवहारठीक नभएको भन्दै पानीको अधिक मूल्य प्रतिबोतल २० रुपैयाँ भएपनि ३० रुपैयाँसम्म लिने गरेको पाइएको प्रशासकीय अधिकृत सुवेदीकोभनाई छ । हेटौंडाको राप्तीरोडमा रहेको एक किराना पसललाई प्रशासनले जरिवाना गरेको छ ।
अखाद्यबस्तुसँगै खाद्य बस्तु राखेको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखेको र अनुगमनका क्रममा गोदाम देखाउने लगायतका कार्यमा असहयोग गरेको प्रशासकीय अधिकृत सुवेदीले बताए । यो किराना पसललाई सुधार गर्न चेतावनीसहित २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।







