झरीले आलु उत्पादन घट्ने चिन्तामा थाहानगरका किसान

हेटौंडा । वैशाख महिनामा दैनिकरुपमा वर्षा हुन थालेपछि मकवानपुरका थाहा नगरपालिका तरकारी उत्पादक कृषक चिन्तित भएका छन् ।

दैनिकरुपमा पानी परेकाले आलुका बोट डढुवा रोग लागेर कालो भएका छन् । आलु बढ्ने बेलामा बोटमै रोग लागेकाले आलुको उत्पादनसँगै आकार पनि घट्ने चिन्ताले थाहाका कृषक पिरोलिएका हुन् ।

यहाँका कृषकले जेठ पहिलो सातादेखि आलु खनेर बिक्री गर्थे । ‘अहिले आलुको बोट नै डढुवा रोग लागेर कालो भइसक्यो कहिले खन्ने ठेगानै छैन,’ थाहा नगरपालिका–३ का कृषक सुदर्शन विष्टले भने, ‘वैशाखमा लगातार पानी परेकाले आलुको बोटमा डढुवा रोग लागेर मरिसक्यो, आलुका दाना मट्याङग्रा जत्रा भएका छन् के खन्नु ?’

१२ वटा वडामा विभाजित थाहा नगरपालिकाबासीको मुख्य आम्दानीको स्रोत तरकारीखेती हो । त्यसमध्ये पनि सबैभन्दा बढी आम्दानीको हिस्सा ओगट्ने आलुखेती हो । आलुको उत्पादनमा गिरावट आउने बितिक्कै यो क्षेत्रका बासिन्दाको आयस्रोत नै प्रभावित हुनेगर्छ ।

थाहा नगरपालिकाको कृषि विकास शाखाका अनुसार नगरपालिका क्षेत्रमा ६ हजार ३ सय रोपनी जग्गामा आलुखेती गरिन्छ । गतवर्ष झण्डै ७ हजार टन आलु उत्पादन भएको थियो । गतवर्ष थाहामा आलुको उत्पादन राम्रो हुनुको साथै मूल्य पनि कृषकले राम्रै पाएका थिए ।

थाहा नगरपालिका कृषि विकास शाखाप्रमुख बालकुमारी भट्टराईले भनिन्, ‘अहिले दैनिक वर्षा भएकाले आलुमात्र होइन, अन्य तरकारी उत्पादनमा पनि समस्या भएको छ ।’ साविक दामन, पालुङ, आग्रा, टिष्टुङ, चित्लाङ र बज्रवराही गाविस समेटेर बनेको थाहा नगरपालिकाको सबै वडामा आलुखेती गरिने कृषि शाखाकी प्रमुख भट्टराईले बताइन् ।

यहाँ प्रतिरोपनी सरदर १५ क्विन्टल आलु उत्पादन हुने उनले बताइन् । उनकाअनुसार थाहाबाट बर्सेनि ५० करोड रुपैयाँ भन्दाबढीको आलु निर्यात हुनेगर्छ । यहाँ उत्पादन हुने आलु काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, भरतपुरलगायत विभिन्न सहरमा निर्यात हुनेगर्छ ।

थाहाले आलुबाटमात्र करिब ५७ देखि ६० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । यहाँबाट निर्यात हुने आलुलगायत अन्य तरकारीमा ५२ वर्षदेखि स्थानीय कर लगाइँदै आएको छ । यहाँ माघको पहिलो सातादेखि आलु रोप्न सुरु हुन्छ । फागुन पहिलो सातासम्म आलु रोप्ने काम सकिन्छ । जेठ पहिलो सातादेखि आलु खन्ने काम सुरु गरिन्छ ।

२०३१ सालदेखि रुपचन्द्र विष्टले दामन र पालुङमा आलुमा कर लगाउन सुरु गरेका थिए । त्यहीँ करबाट संकलन भएको रकम यस क्षेत्रको शैक्षिक विकास एवं भौतिक पूर्वाधारका लागि खर्च गरिँदै आएको थियो । कर अहिले नगरपालिकाले तोक्ने गरेको छ । यसक्षेत्रमा विसं २०१८ सालदेखि आलुखेती सुरु गरिएको स्थानीयको भनाई छ ।

आलुको उत्पादनसँग यसक्षेत्रका बासिन्दाको जीवनशैली जोडिएको छ । आलुसँगै अहिले अरु तरकारीखेती पनि व्यवसायिक ढंगले गर्न थालेका छन् । पानी लगातार परेकाले केराउ, गोलभेडा, बन्दालगायत तरकारी खेतीमा क्षति पु¥याएको छ । यसक्षेत्रका कृषकले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव, कुखुरे ज्योति र साजिटा जातका आलुको बीउ लगाउनेगरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.