मक्राञ्चुली । मकवानपुरगढी गाउँपालिकाले पाडापाडी संरक्षणमा विशेष चासो देखाएको छ । पालिकाले पाडापाडी संरक्षण गर्नका लागि किसानलाई प्रोत्साहन गर्न थालेको हो ।
कृषि तथा पशुपालनका विभिन्न क्षेत्रमा अनुदान दिँदै आएको पालिकाले पाडापाडी संरक्षण बिना दूधको उत्पादनमा वृद्धि नहुने भन्दै यस क्षेत्रमा लागेका किसानहरूलाई अनुदान दिन थालेको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी पालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरी प्रस्ताव आह्वान गरेको छ ।
प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत प्राप्त १० लाख रुपैयाँ बजेटबाट यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले जानकारी दिए । उनका अनुसार, विशेष गरी वडा नं. ५ का किसान, उद्यमी, सहकारी तथा निजी फर्महरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो । यस कार्यक्रम अन्तर्गत छनोट भएका प्रत्येक निजी फर्म वा समूहले ५० प्रतिशत लागत साझेदारीमा अधिकतम १ लाख रुपैयाँसम्म अनुदान प्राप्त गर्न सक्नेछन् ।
पाडापाडी संरक्षण र व्यावसायिक पालनमा रुचि राख्ने स्थानीय कृषकहरूका लागि फागुन २७ गते सुचना प्रकाशित गरिएको थियो । चैत्र ३ गतेसम्म तोकिएकोमा दर्ता भएका प्रस्तावमाथि छलफल भइरहेको पशु तथा मत्स्य विकास शाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । प्रस्तावका साथमा निवेदकको नागरिकताको प्रतिलिपि, फर्म दर्ता तथा नवीकरणको प्रमाणपत्र, कार्ययोजना, तालिम वा अनुभवको प्रमाण, र वडा कार्यालयको सिफारिस लगायतका आवश्यक कागजातहरु पेश गर्नुपर्ने अनिवार्य गरिएको थियो ।
गाउँपालिकाले यो कार्यक्रममार्फत पशुपालन क्षेत्रको आधुनिकीकरण र किसानको आर्थिक स्तर उकास्ने लक्ष्य लिएको पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । ‘हाम्रो मुख्य उद्देश्य भनेको गाउँपालिकालाई दूध र मासु उत्पादनमा आत्मनिर्भर बनाउनु हो । धेरैजसो किसानले पाडापाडीको उचित हेरचाह नगर्दा वा मासुका लागि सानैमा बेच्दा भविष्यमा उन्नत जातका भैंसीहरुको अभाव हुने देखिएको छ,’ उनले भने ।
‘त्यसैले, पाडापाडी जोगाउनु भनेको भविष्यको दुग्ध उत्पादन सुनिश्चित गर्नु हो । यो अनुदानले किसानलाई व्यावसायिक पशुपालनमा प्रोत्साहन गर्ने र उनीहरुको आर्थिक स्तर उकास्ने हामीले विश्वास लिएका छौं ।’ उनले थपे ।







