हेटौंडा । मकवानपुरमा वन डढेलोको घटना यसवर्ष उल्लेखनीयरुपमा घटेको देखिएको छ । २०८१ फागुनदेखि २०८२ जेठसम्म ५ सय ७४ दशमलव २५ हेक्टर वनक्षेत्र डढेलोबाट प्रभावित भएको थियो ।
यो अवधिमा डढेलोका कारण १ सय २ वटा रुख, १ हजार एक सय ३७ खम्बा, १० हजार दुई सय ९९ लाथ्रा तथा १ लाख ३५ हजार ६२ वटा बिरुवामा क्षति पुगेको तथ्यांक मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस आर्थिक वर्षको चैत महिनामा मात्रै वन डढेलो लागेको थियो । चैत्र महिनामा ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको वन कार्यालयले जनाएको छ । मकवानपुर जिल्ला देशका ७७ जिल्लामध्ये वन डढेलोको उच्चजोखिममा पर्ने १८ औं स्थानमा रहेको बताइएको छ ।
यसअवधीमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ । पानीपोखरी तथा सिमसार व्यवस्थापन अन्तर्गत २१ स्थानमा नयाँ पोखरी निर्माण भइरहेको छ भने २ सय २५ हेक्टर वनक्षेत्रमा थिनिङ (पत्ल्याउने) कार्य सम्पन्न भइसकेको छ ।
यसैगरी ३८ हेक्टर बिग्रिएको वनक्षेत्रको पुनरुत्पादन कार्य अगाडि बढाइएको छ भने ५ सय हेक्टरभन्दा बढी क्षेत्रमा झाडी सरसफाइ तथा मिचाहा प्रजाति नियन्त्रण गरिएको छ । वन डढेलो नियन्त्रणका लागि ३७ दशमलव १ किलोमिटर पुरानो अग्निरेखा सरसफाइका साथै ४ किलोमिटर नयाँ अग्निरेखा निर्माणकार्य गरिएको छ ।
डिभिजन वन कार्यालय मार्फत् १० वटा र सामुदायिक वन उपभोक्ता समितिमार्फत् ५ वटागरी १५ वटा पात फुक्ने मेसिन प्रयोगमा ल्याई सुकेका पात व्यवस्थापन गरिएको छ । कार्यालयकाअनुसार डढेलोको सूचना प्राप्त भएको १०–१५ मिनेटभित्रै परिचालन हुने अग्निनियन्त्रण टोली तयारी अवस्थामा राखिएको छ भने सम्बन्धित निकायको समन्वयमा २ देखि ३ घण्टाभित्र डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।
यसैबीच, २०८२ फागुनदेखि २०८३ जेठसम्म प्रत्येक सामुदायिक वनमा कम्तिमा २ जना वनहेरालु परिचालनगरिएको छ । संघीय वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणमा खटिने जनशक्तिका लागि ५ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको छ ।
चैत्र १ देखि ७ गतेसम्म भएको वन डढेलो व्यवस्थापन अन्तर्गत ८ वटै सबडिभिजन वन कार्यालयमार्फत सचेतनामूलक ¥याली, विद्यालय कार्यक्रम, माइकिङ, नियन्त्रित डढेलो अभ्यासलगायत कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वनप्रमुख राकेशकुमार चन्द्रवंशीले जानकारी दिएका छन् । कार्यक्रममा वनअधिकृत हेमकुमार पाठकले आफ्नो प्रस्तुतीमार्फत वन डढेलो नियन्त्रणका लागि यसअघि गरिएका प्रयास र आगामी दिनमा अपनाइने रणनीतिबारे धारणा राखेका थिए ।
वनक्षेत्रमा डढेलो लाग्नुका प्रमुख कारण मानवीय लापरबाही, अव्यवस्थित घाँसदाउरा संकलन, जथाभावी आगो बाल्ने प्रवृत्ति र मौसमीय प्रभाव रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न समुदायस्तरबाटै सजगता आवश्यक रहेको बताएका छन् ।
वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षानिकाय, सामुदायिक वन समूह तथा सर्वसाधारण बीच सहकार्य अझै मजबुत बनाउनु पर्नेमा जोड दिइएको छ । डिभिजन वन कार्यालयले यसवर्ष हालसम्म विगतका वर्षमा जस्तो ठूलो क्षति हुनेगरी वन डढेलोका घटना नदेखिएको दाबी गरेको छ । यसलाई प्रारम्भिक चरणदेखि नै गरिएको पूर्वतयारी, जनचेतना अभिवृद्धि र निगरानी प्रणालीको प्रभावका रुपमा लिइएको छ ।
आगामी दिनमा तापक्रम बढ्दै जाने र सुख्खा मौसम लम्बिँदै जाने भएकाले डढेलोको जोखिम अझै उच्च रहने भन्दै कार्यालयले थप सतर्कता अपनाउने जनाएको छ । यसका लागि वनक्षेत्रमा नियमित गस्ती, अग्निरेखा निर्माण, द्रुत उद्दार टोली तयारी तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइने पाठकले जानकारी दिए ।
मकवानपुरमा २५ वर्षको अवधिमा सबैभन्दा बढी २०१३ मा १२ हजार दुई सय २१ दशमलव ३ हेक्टर वनक्षेत्र नोक्सान भएको थियो भने २०२१ मा ६ हजार ९ सय ७९ दशमलव ९ हेक्टर वनक्षेत्र डढेलोका कारण नोक्सान भएको डिभिजन वनप्रमुख चन्द्रवंशीले जानकारी दिए । तथ्यांकअनुसार बागमती गाउपालिका र बकैया गाउँपालिका वनक्षेत्र डढेलोको उच्चजोखिममा रहेका छन् ।







