मकवानपुरको दुवै क्षेत्रमा रास्वपा गौतम र उप्रेती विजयी

हेटौंडा । प्रतिनिधिसमा निर्वाचन–२०८२ मा मकवानपुर–१ बाट रास्वपाका ३७ वर्षीय प्रकाश गौतम र २ नम्बर क्षेत्रबाट रास्वपाकै २५ वर्षीय प्रशान्त उप्रेती विजयी भएका छन् ।

गौतमले ३६ हजार ३३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले १४ हजार ३८ मत पाइन् । नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३, नेकपाका विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५, राप्रपाका दीपकबहादुर सिंहले ४ हजार ५७४ मत पाएका छन् ।

२ नम्बर क्षेत्रबाट उप्रेतीले ३० हजार ५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत पाए । अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६, नेकपाका लवशेर विष्टले १२ हजार ४९२, उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७, श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ र राप्रपाका रामबहादुर थोकरले ७८५ मत पाए ।

२०८२ को प्रतिनिधिसभा निर्वाचनले मकवानपुरको राजनीतिक धरातलमा ऐतिहासिक मोड ल्याएको छ । २०४६ सालमा बहुदल आएपछि भएका २०४८ यताका निर्वाचनमा कम्युनिस्टहरूले निरन्तर झडा गाड्दै आइरहेको मकवानपुर २०८२ को निर्वाचनमा आइपुग्दा वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको छ । मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्र ३ वर्षअघि मात्रै स्थापित नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित्यो ।

२०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ (३४ वर्ष) मा भएको निर्वाचनमा दुई पटक राप्रपाले र एक पटक मात्रै कांग्रेसले जितेको छ । त्यो पनि एउटा निर्वाचन क्षेत्र मात्रै । बाँकीमा वामपन्थी उम्मेदवार विजयी भएका थिए । वामपन्थीमा पनि २०६४ मा चार क्षेत्र माओवादीका र बाँकी सबै नेकपा एमालेका उम्मेदवार विजयी बनिरहे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.