हेटौंडा । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला मकवानपुरका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्बन्धित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई सामग्री बुझाउने कार्य सुरु गरिएको थियो भने सोमबार साँझसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाइसकिएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले दिएको जानकारी अनुसार मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री सहित मतदान अधिकृतहरु पुगिसकेको र आज सर्बदलिय बैठक बस्ने अनी निर्वाचनका लागि बुथ निर्माण गर्ने काम हुने छ ।
जिल्लाका सबै केन्द्रमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मतदान अधिकृतका निर्देशन पुस्तिका, स्याही, स्ट्याम्प प्याड, सुरक्षात्मक सामग्रीलगायत निर्वाचन सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री व्यवस्थित रूपमा पुर्याइएको हो ।
निर्वाचनलाई निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरले कर्मचारी खटाइएको छ। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरू निर्वाचन सामग्रीसहित सम्बन्धित केन्द्रतर्फ प्रस्थान गरिसकेका छन् ।
कतिपय दुर्गम तथा ग्रामीण भेगका मतदान केन्द्रमा सामग्री समयमै पुर्याउन सवारी साधनको विशेष व्यवस्था गरिएको थियो भने सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको छ ।
मकवानपुरको जिल्ला सुरक्षा समितिसँगको समन्वयमा मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा सूचना टाँस गर्ने, मतदान स्थल व्यवस्थापन गर्ने तथा मतदान कक्ष तयारी गर्ने कामसमेत अन्तिम चरणमा पुगेको जनाएको छ ।
मकवानपुरमा रहेका दुवै निर्वाचन क्षेत्रका मतदाताहरूलाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरिएको छ । निर्वाचन आयोगको निर्धारित आचारसंहिता पालना गर्दै सबै पक्षलाई शान्तिपूर्ण वातावरण कायम राख्न पनि अपिल गरिएको छ ।







