हेटौंडा । यातायात व्यवस्था कार्यालय हेटौंडामा हुने सेटिङ र घुसखोरीको जालो फेरि एकपटक उदाङ्गो भएको छ।
सवारी सरुवा सहमतिका लागि सेवाग्राहीसँग रकम बार्गेनिङ गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले कार्यालयमा कार्यरत कर्मचारी अधिकृत छैटौं अमृत भेटुवाल र बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीको काम सहज गरिदिने नाममा अधिकृत भेटुवालले बिचौलिया पौडेलको माध्यमबाट ११ हजार पाँचसय रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगले उनीहरूलाई कार्यालय परिसरबाटै समातेको हो ।
पक्राउ पर्नेमा लेखापढी व्यवसायीको रूपमा कार्यरत पौडेलले अधिकृत भेटुवालकै मिलेमतोमा रकम असुल गरिरहेको स्विकार गरेको आयोगले जनाएको छ। आयोगको टोलीले उनीहरूको साथबाट ३ थान मोबाइल फोन समेत बरामद गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुस माग गरिरहेको भन्ने ठोस उजुरी परेपछि चलाइएको अपरेशनका क्रममा मंगलबार यी दुवै जना नियन्त्रणमा परेका हुन् ।
सरकारी सेवा लिन पुग्ने आम नागरिकलाई सास्ती दिँदै पैसा विना कामै नगर्ने प्रवृत्ति देखिएपछि अख्तियारले निगरानी बढाएको थियो । हाल पक्राउ परेका अधिकृत र बिचौलिया दुवैलाई हिरासतमा राखेर भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।







