जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित

हेटौंडा । मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । सोमबारदेखि सुरुहुने भनिएको प्रतियोगिता निर्वाचन आचारसंहिता र सुरक्षा व्यवस्थाका कारण स्थगित गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन् ।

समितिले आइतबार सूचना जारी गरी अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ । गत माघ २५ गते हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा अध्यक्ष मोक्तानको सभाध्यक्षतामा बसेको बैठकले फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

यो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनोट प्रतियोगिता हो । हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको छ ।

शुक्रबारदेखि आइतबारसम्म भएको प्रतियोगितामा भुटनदेवी माविले ११ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित उपाधि उचालेको हो । प्रतियोगितामा ६ स्वर्ण, ६ कास्य र ७ रजतसहित जनप्रिय माध्यमिक विद्यालय द्वितीय र ६ स्वर्ण मात्रै जितेको तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय तृतीय भएको छ ।

शुक्रबार प्रतियोगिताको उद्घाटनमा भएको मार्चपासमा बालउज्वल माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र सिद्धार्थ शिशुसदन माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन् ।

मार्चपासमा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिए । राष्टन्पति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथ्लेटिक्स विधाका खेल भएको थियो ।

एथ्लेटिक्स विधाका खेलमा छात्रातर्फ श्रमिक माध्यमिक विद्यालयकी हसिना खातुन र छात्रतर्फ भुटनदेवी माविका आशीष यादव उत्कृष्ट खेलाडी घोषित भएका छन् । खातुनले ३ स्वर्ण, १ कास्य र १ रजत जितेकी छन् भने यादवले ४ स्वर्ण हात पारेका छन् ।

भलिबलमा ज्ञानोदय माध्यमिक विद्यालयकी अप्सना उप्रेती उत्कृष्ट छात्रा खेलाडी र आधुनिक राष्ट्रिय माविका रियाज थोकर उत्कृष्ट छात्र खेलाडी घोषित भएका हुन् । कबड्डी प्रतियोगितामा छात्रतर्फ प्रगति माध्यमिक विद्यालय प्रथम र सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय भएको छ ।

छात्रातर्फ भृकुटी माध्यमिक विद्यालय प्रथम र हेटौंडा एकेडेमीले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । हेटौंडा उपमहानगरको आयोजना तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिमको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.