भुइँमान्छे

भुइँमान्छे

जसको सर्वत्र चर्चा छ, आजकल

चुनाव जो आएको छ !!!

छन त उनीहरु हिजो पनि थिए

चिच्याएका थिए, कराएका थिए

निराश थिए, डराएका थिए

आत्तिएका थिए

तात्तिएका पनि थिए

तर, हिजो चुनाव आएकै थिएन

आज चुनाव आएको छ

हिजो गाँसको आशमा गएकालाई

दास देख्ने आँखाले आज

त्यही मान्छेलाई खास देखेको छ

हिजो जनताको दैलो टेक्न

मैलो मान्ने खुट्टाहरु आज

त्यहाँ टेक्न पहिलो हुने दौडमा छन्

हिजो गुनासाका बुँदा सुन्ने

कान नभएकाहरु आज

मनोवाद लम्बेतान सुन्ने भएका छन्

आज चुनाव आएको छ !!!

तर भोलि चुनाव रहँदैन

दैलो फेरि मैलो लाग्न थाल्छ

खासहरु फेरि दास लाग्न थाल्छ

जब सत्ताको नशा चढ्न थाल्छ नि हजुर

आफू जस्तै मानिस पनि जिउँदो लास लाग्न थाल्छ

भुइँमान्छेलाई थाहा छ

उनीहरु त केवल उधारोका अंशियार हुन्

नगदको ठेक्का अन्तै लागिसकेको हुन्छ

चुनाव अघि बाजागाजा सहित आएका आश्वासन

चुनाव पछि सुटुक्कै भागिसकेको हुन्छ

भुइँमान्छेलाई थाहा छ

थाहा छ सबै कुरा

देखेको छ

दशैंपछि बढारिएको जमरा

सेलाइएको प्रतिमा

अनि

निकालिएको पीङ

नयाँ शब्दमा पुरानै नारा

नयाँ चेहरा पुरानै पारा

तर पनि

जसको केही हुँदैन

उसको हुने आश मात्र हो

सधैं झैं

ऊ आज फेरि उत्साहित छ

अंकगणितको आफ्नो काम गर्न

केही फरक भइहाले केही पाइहाल्छ

नत्र फेरि अर्को चुनाव त आइहाल्छ !!!

(लेखकः सन्देश पौड्याल)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.