मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकर चुनावी अभियानलाई निरन्तरता दिँदै आज थाहा नगर पुगेका छन्। उनको सचिवालयका अनुसार प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा थोकरले मतदातासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रमलाई अभियानको मुख्य आधार बनाएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उनी दैनिक रूपमा जनताको घरआँगनमा पुगेर आफ्ना राजनीतिक धारणा, एजेन्डा र प्रतिबद्धता राख्दै आएका छन्।
चुनावी अभियानअन्तर्गत मतदाताको विश्वास जित्ने र आफू पनि मतदातालाई भरोसा दिलाउने उद्देश्यसहित थोकर घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन्। स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनी जनताका समस्या, अपेक्षा र गुनासो सुन्दै आएका छन् भने ती विषयलाई भावी प्रतिनिधित्वसँग जोडेर समाधानको प्रतिबद्धता व्यक्त गरिरहेका छन्। सचिवालयका अनुसार थोकरले चुनावी प्रचारलाई औपचारिक कार्यक्रमभन्दा पनि जनताको दैनिकी र जीवनसँग जोडेर अघि बढाएका छन्।
यसै क्रममा राप्रपाका उम्मेदवार थोकर आज मकवानपुरगढी गाउँपालिका–५ स्थित सामरी पुगेका थिए। सामरीमा उनले स्वर्गीय अर्जुन अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरे। शोक सभामा सहभागी भई उनले स्वर्गीय अधिकारीप्रति श्रद्धा प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए। सामाजिक र मानवीय संवेदनालाई पनि चुनावी व्यस्तताबीच महत्व दिनुपर्ने धारणा राख्दै उनले पीडाको घडीमा साथ दिनु आफ्नो कर्तव्य भएको बताए। सामरीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेपछि उनी चुनावी अभियानकै सिलसिलामा थाहा नगरतर्फ प्रस्थान गरेको सचिवालय स्रोतले जनाएको छ।
थाहा नगरपालिकामा पुगेपछि थोकर पालुङ दोबाटो, मोरिया, चौतारा, लामिचौरलगायतका विभिन्न स्थानमा जनताको घरदैलोमा सहभागी भएका छन्। ती क्षेत्रका स्थानीय मतदातासँग भेटघाट गर्दै उनले प्रत्यक्ष रूपमा मत मागेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिक दृष्टिकोण र आफ्नो उम्मेदवारीको उद्देश्यबारे जानकारी गराएका छन्। घरदैलोका क्रममा मतदातासँग खुलेर संवाद गर्ने अवसर पाएको भन्दै थोकरले जनतामा सकारात्मक उत्साह र खुशी देखिएको बताएका छन्।
थोकरका अनुसार घरदैलो अभियानका क्रममा धेरै मतदाताले राजसंस्थाले मात्र जनताको रक्षा गर्न सक्ने विश्वास व्यक्त गरेका थिए। मतदाताले उक्त धारणा राख्दै आफूलाई मत दिने भरोसा दिलाएको उनले बताए। स्थानीय तहमा देखिएको समर्थन र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै थोकरले बाँकी चुनावी दिनहरूमा पनि जनताकै बीचमा रहेर अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।






