मकवानपुर । मकवानपुरको हेटौँडा १९ को बस्तिपुरका साँघुरा गल्लीहरूमा चुनावी चर्चा हुँदै थियो। गल्लीमा मतदाताहरू भेला भएका थिए, र बीचमा उभिएका थिए – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राम बहादुर थोकर।
२१ फागुनमा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने निर्वाचनका लागि यो चुनावी घरदैलो कार्यक्रम थियो, जसमा थोकरले प्रत्येक घरमा पुगेर मतदातासँग हात जोड्दै भेटघाट गरे। प्रचार प्रसार संयोजक संगीन श्रेष्ठका अनुसार, थोकरले स्पष्ट सन्देश दिए ‘राष्ट्र, राष्ट्रियता र राज संस्था जोगाउन राप्रपालाई मत हाल्नुहोस्।’ राष्ट्रियताको जगेर्नाका लागि राप्रपालाई विजयी गराउनु पर्नेमा जोड दिँदै उनले मतदातालाई अनुरोध गरे।
उम्मेदवार थोकरले आजै मनहरी गाउँपालिका–९ रजैयाका स्थानीय मतदातालाई पनि भेटे । राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका थोकरले चुनावी अभियानमा आश्वासनको भन्दा कामको महत्त्वमा जोड दिए। एक घरको आँगनमा उभिएर उनले भने,‘जनताको सेवक भएर काम गर्न मत दिनुस्। म तपाइँहरूले दिनु भएको मतको सधै कदर गर्दै जनताको सेवक बन्न चाहन्छु।’ थोकर यो वचनले उपस्थित मतदाताहरूको मुहारमा मुस्कान देखिन्थ्यो ।
मकवानपुरको कैलाश गाउँपालिका–१०, साविक नामटार गाविस मर्याङकोटमा जन्मिएका थोकर विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका लामो अनुभव बोकेका परिपक्व व्यक्तित्व हुन्। मकवानपुर क्षेत्र नम्बर २ का मतदातामाझ आफूलाई परिपक्व उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनी भन्छन् ‘जनताको जीवनशैली परिवर्तन गर्दै सर्वाङ्गीण विकास का लागि काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको छु।’ पछिल्लो समय नेपालमा देखिएको ‘जेनजी’ अर्थात् नवपुस्ताको आन्दोलनको भावनालाई आत्मसात् गर्दै विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसदमा प्रभावकारी भूमिका खेल्ने चाहनासहित उनी चुनावी अभियानमा सक्रिय छन्।







