मकवानपुर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुरमा चुनावी मैदानमा आक्रामक शैलीमा कदम चालेको छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राप्रपाले घरदैलोदेखि जनभेटघाटसम्म, राजनीतिक संवाददेखि पार्टी प्रवेशसम्मको लहर तीव्र बनाएको छ ।
जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका रामबहादुर थोकरले आफ्नो चुनावी क्षेत्रमा अभियानलाई तीव्रता दिएसँगै राप्रपामा प्रवेश गर्नेहरु बढ्दै गएको जनाइएको छ । घर–घरमा पुगेर मतदातासँग सिधा संवाद, समस्याको पहिचान र समाधानका स्पष्ट एजेन्डासहित थोकरले मतदातालाई आकर्षित गरिरहेका छन् । यही अभियानकै क्रममा उनले राजनीतिक एजेन्डामार्फत मतदातालाई पार्टी प्रवेश गराउन समेत सफलता हासिल गरेका छन् ।
चुनावी अभियानमा सक्रिय थोकर आफू त्यस क्षेत्रका बलिया उम्मेदवार रहेको दाबी गर्दै निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । २०३९ सालदेखि राजनीतिमा सक्रिय उनी जनताको भावना, समस्या र समाधानको मेरुदण्ड बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । यही राजनीतिक प्रभाव र इमान्दार छविका कारण उक्त क्षेत्रबाट राप्रपामा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य बनेको पाइएको छ ।
चुनावी अभियानअन्तर्गत विहीबार भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा हेटौँडा–३ बाट विभिन्न पार्टी परित्याग गरी विभिन्न व्यक्ति राप्रपामा प्रवेश गरेका छन् । प्रचारप्रसार संयोजक संगीन श्रेष्ठका अनुसार बसामाडीमा आयोजित कार्यक्रममा विकल राई, शिव राना, मनोज वाइब, आयुश रुम्बा, अमित घलान, सलिन सुनार, विशेष राई, सुजन सुबेटी, युमेश शाही, सन्दीप लगायतका कयौं युवा राप्रपामा प्रवेश गरेका छन् ।







