थोकरको चुनावी अभियान सुरु, जनताको मन र मत जित्नेमा ढुक्क !

मकवानपुर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरका दुवै क्षेत्र चुनावी माहोलले तातेका छन् । उम्मेदवारहरू रणनीति बुन्ने, टोल–टोल पुग्ने र मतदाताको ढोका ढकढक्याउने काममा बिहानदेखि बेलुकासम्म व्यस्त देखिन्छन् ।
यसैक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रामबहादुर थोकरले भने छुट्टै शैलीमा आफ्नो अभियानलाई तीव्र बनाएका छन् । विभिन्न समूह बनाएर निर्वाचन क्षेत्रमा सक्रिय बनेका थोकर जनताको सेवक बन्ने अभियानसहित यतिबेला घरदैलो कार्यक्रममै केन्द्रित छन् । थोकरको सचिवालयका अनुसार उनी बिहानदेखि बेलुका अबेरसम्म मतदाताकै घरआँगनमा पुगेर आफ्ना विचार र योजनाहरू सुनाइरहेका छन् । कुनै समय राप्रपाको आधार क्षेत्रका रूपमा चिनिएको मकवानपुरलाई पुनः आफ्नै राजनीतिक विरासतमा फर्काउने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन् ।

थोकर जनताबाट सहज रूपमा अनुमोदित हुने अपेक्षासहित उम्मेदवार बनेको उनको सचिवालयको दाबी छ । मकवानपुरको कैलाश गाउँपालिका, साविक नामटारमा जन्मिएका थोकरको चुनावी अभियान संगठनात्मक रूपमा पनि विस्तार हुँदै गएको छ । माघ १० गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी लेबर्टमा वडा नम्बर ३, ११ र १९ लाई केन्द्रित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकरको संयुक्त सम्पर्क कार्यालय स्थापना गरिएको छ । त्यसको भोलिपल्ट माघ ११ गते मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीमा पनि उनको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।

लामो समयदेखि जनताका माझ रहेर जनताकै सेवकका रूपमा काम गरेको अनुभवका कारण आफू मकवानपुर संघीय क्षेत्र नम्बर २ मा परिचित अनुहार भएको थोकर बताउँछन् । यही विश्वासका साथ उनले फागुन २१ को निर्वाचनमा जनताको मन र मत दुवै जित्ने उद्देश्यले अभियान अघि बढाएका छन् । चुनावी भेटघाटका क्रममा क्षेत्र नम्बर २ का मतदाताले उनलाई संसदीय यात्राको शुभकामना दिँदै समर्थन जनाइरहेका छन् ।

मकवानपुरका दुवै क्षेत्रमा गरी ४४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । युवा उत्साह र राजनीतिक अनुभवको संगम बनेको यस निर्वाचनमा मकवानपुरका दुवै क्षेत्रमा फरक–फरक पृष्ठभूमिका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.