मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० ले फेरि एकपटक स्थानीय श्रम, सीप र संस्कृतिलाई उजागर गर्ने उत्सवको तयारी गरेको छ । यही माघ १६ र १७ गते आयोजना हुन लागेको तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिताले हेटौँडालाई दुई दिनसम्म रौनकले भरिने अपेक्षा गरिएको छ । वडा कार्यालयको आयोजनामा हुने यस मेलालाई केवल प्रदर्शनी मात्र होइन, स्थानीय पहिचान र सम्भावनाको साझा मञ्चका रूपमा लिइएको वडाध्यक्ष फूर्वा दोर्जे तामाङले जानकारी दिए ।
उनका अनुसार हेटौँडा उपमहानगरपालिकाका सबै १९ वटै वडाको सहभागितामा मेला सञ्चालन गरिनेछ । राजनीतिक दल, टोल विकास संस्था, उद्योग वाणिज्य संघ मकवानपुर, सामुदायिक वन उपभोक्ता समूह तथा हेटौँडा–१० को पहिचान बनेको ढाका उद्यमी समूहको सहकार्यले मेलालाई अझै प्रभावकारी बनाइनेछ । स्थानीय साना उद्योग, घरेलु तथा लघु उद्यमीले उत्पादन गरेका वस्तुलाई प्रदर्शनी, प्रवर्द्धन र बजारीकरणमा सघाउने मूल लक्ष्यका साथ मेला आयोजना गर्न लागिएको हो ।
मेलामा घरेलु उत्पादन र कृषि सामग्रीका प्रदर्शनी स्टल, सांगीतिक प्रस्तुति, पर्यटन तथा खाना महोत्सव र सांस्कृतिक पहिचान झल्कने नृत्य प्रतियोगिता समावेश गरिनेछ । स्थानीय जातजाति, भेषभूषा र मौलिक संस्कृतिको झल्को दिने कार्यक्रमले मेलालाई मनोरञ्जनसँगै पहिचानको उत्सव बनाउने अपेक्षा आयोजकको छ । दुई दिनसम्म चल्ने मेलामा घरेलु उत्पादनका लागि एक सय वटा स्टल रहनेछन्, ती स्टल निःशुल्क उपलब्ध गराइनेछ भने सहभागी व्यवसायीका लागि यातायातको समेत व्यवस्था गरिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कारसमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
नृत्य प्रतियोगितालाई पनि विशेष आकर्षणका रूपमा राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले पचास हजार, द्वितीयले पैंतीस हजार, तृतीयले बीस हजार र सान्त्वना हुने चार जनाले जनही पाँच हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गर्नेछन् । यसैगरी वडामा स्थायी बसोबास गर्ने विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट एसईई र माध्यमिक तहमा तीन दशमलव दुई पाँच जीपीए तथा संस्थागत विद्यालयबाट एसईईमा तीन दशमलव दुई पाँच र माध्यमिक तहमा तीन दशमलव छ पाँच जीपीए ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गरिनेछ ।
मेलाको समापन समारोहमा राष्ट्रिय खेलाडी, अटोमेकानिक मिस्त्री तथा विभिन्न क्षेत्रका उद्यमीलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मूल समिति र छ वटा उपसमिति गठन गरिएको छ । करिब आठ लाख रुपैयाँ लागत अनुमान गरिएको यस मेलाले स्थानीय उत्पादन, प्रतिभा र पहिचानलाई एकै थलोमा जोड्दै हेटौँडामा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।







