मकवानपुर । राप्रपा नेपाललाई राप्रपामा समाहित गरेका कमल थापा कहाँबाट चुनाव लड्छन् भन्ने चासो छ । गत २०७९ को चुनावमा एमालेसँग गठबन्धन गरी पराजित भएका उनलाई यो पटक चुनावी नतिजा आफ्नो पोल्टामा पार्नुछ । यसैले पनि चुनावको मुखमा पार्टी एकता गरेका थापा आफूलाई पार्टीले सहजै जित्ने ठाउँमा टिकट देओस् भन्ने चाहन्छन् ।
एमालेको सूर्य चिन्हबाट मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव लडेका थापा तेस्रो भएका थिए । जित हासिल गरेका राप्रपाका दीपकबहादुर सिंहले जितेको यहाँ २७ हजार ८१६ मत प्राप्त गरेका थिए भने माओवादी, एकीकृत समाजवादीसमेतको गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत प्राप्त गरेकी थिइन् । कमल थापाले २५ हजार ४२० मत पाएका थिए । यो क्षेत्रबाट राप्रपाका सिंह नै पुनः उम्मेदवार भन्ने चर्चा भएकाले र आफ्नो जीत पनि सुनिश्चित नदेखिएकाले थापा यो पटक काठमाडौँको कुनै क्षेत्रबाट चुनाव जित्ने सुरमा छन् । स्रोतका अनुसार थापालाई पार्टीले काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउँने तयारी गरेको छ ।
२०७८ को मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा परित्याग गर्दै आफ्नै पुरानो पार्टी राप्रपा नेपाल ब्युताएर त्यसको नेतृत्व गर्दै एमालेसँग गठबन्धन गरी चुनावमा लडेका थिए । तर ४ वर्षछि पुनः पुरानो घर फर्किएका थापालाई काठमाठौँको ५ नम्बर क्षेत्रमा टिकट दिएर पार्टीले सम्मान गर्ने बुझिएको हो ।







