बालेनको राजिनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले आफ्नो पदबाट राजीनामा दिएका छन् । आइतबार उनले उपप्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् । स्थानीय तहको कानुनी व्यवस्थाअनुसार नगर प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले नगर प्रमुखलाई राजीनामा बुझाउनुपर्ने प्रावधान रहेकाले सोही व्यवस्था अनुसार राजीनामा प्रक्रिया पूरा गरिएको हो ।
शाहले आफूले दिएको राजीनामा आजकै मितिबाट लागू हुने गरी स्वेच्छाले पेश गरेको राजीनामा पत्रमा स्पष्ट उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दै आएका शाहले अब स्थानीय तहको जिम्मेवारीबाट अलग भई केन्द्रीय राजनीतितर्फ कदम चाल्ने सुरु कसेका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीसँगै उनले नगर प्रमुख पदबाट अलग हुने निर्णय लिएको जनाइएको छ ।
राजीनामा पत्रमा शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकामा लागू कानुनी व्यवस्थाको पालना गर्दै आफू नगर प्रमुख पदबाट अलग हुन लागेको उल्लेख गरेका छन् । मिति २०८२ साल माघ ४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।
नगर प्रमुखको जिम्मेवारी सम्हालेको अवधिमा आफूले महानगर र नगरवासीको हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्दै शाहले आगामी दिनमा महानगरको नेतृत्व अझ प्रभावकारी ढंगले अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । उनले उपप्रमुख डंगोलप्रति विश्वास व्यक्त गर्दै नेतृत्वको निरन्तरताका लागि शुभकामना दिएका छन् ।
राजीनामा पत्रमा शाहले काठमाडौँ महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रालाई थप पारदर्शी, परिणाममुखी र प्रभावकारी बनाउन उपप्रमुख तथा नगर कार्यपालिकाले सफल भूमिका निर्वाह गरोस् भन्ने कामना गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.