मकवानपुरगढीमा आयुर्वेद स्वास्थ्य सेवा सुरु

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयुर्वेद स्वास्थ्य सेवा औपचारिक रूपमा सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर २, शिखरकटेरीमा रहेको वडा कार्यालयको भूईँतलामा आयुर्वेद स्वास्थ्य कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह प्रारम्भ गरिएको हो । स्थानीय नागरिकलाई सहज, सुलभ र परम्परागत उपचार पद्धतिबाट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रम मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको हो । गाउँपालिका २ नम्बर वडाका अध्यक्ष बखानसिंह पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा कार्यालय, हेटौंडाका निमित्त प्रमुख अशोक कुमार झाको विशेष आतिथ्यता थियो ।

पालिकाको सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर १ का वडा अध्यक्ष आईतसिं लो, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा नम्बर ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बा, गाउँ कार्यपालिका सदस्य पातलीमाया गोले लगायतको आतिथ्यता थियो ।
आयुर्वेद स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रममा सेवा प्रदायक अभियानकर्ता तथा वैद्य देवकी तिमल्सिनाले नागरिक आरोग्य सेवा केन्द्रबाट प्रदान गरिने आयुर्वेदिक उपचार, परामर्श तथा अन्य सेवाबारे विस्तृत जानकारी दिइन् । उनले आयुर्वेदिक उपचार पद्धतिले दीर्घरोग, जीवनशैलीसँग सम्बन्धित समस्या तथा सामान्य स्वास्थ्य समस्यामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले नागरिक आरोग्य सेवा केन्द्रको औपचारिक उद्घाटन गर्दै गाउँपालिकाले आधुनिक चिकित्सा पद्धतिसँगै आयुर्वेदिक चिकित्सा पद्धतिलाई पनि समान रूपमा महत्व दिने स्पष्ट पारे । उनले स्थानीय तहमा नै परम्परागत उपचार पद्धतिको पहुँच विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्दै आगामी बजेट निर्माण प्रक्रियामा वडास्तरदेखि नै आयुर्वेद स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिने जानकारी दिए । यसले स्थानीय नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा पाउन सहज हुने र स्वास्थ्यप्रति सचेतना बढ्ने विश्वास व्यक्त गरे ।

स्थानीय जनप्रतिनिधि र सहभागीहरूले आयुर्वेद स्वास्थ्य सेवा सुरु हुनु स्थानीयवासीका लागि सकारात्मक उपलब्धि भएको प्रतिक्रिया दिएका छन् । परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य प्रणालीको संयोजनमार्फत गुणस्तरीय सेवा प्रदान गर्न सकिने अपेक्षा व्यक्त गर्दै सहभागीहरूले सेवा केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएसँगै मकवानपुरगढी गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच थप विस्तार हुने विश्वास गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.