हेटौंडा । छिमेकी मुलुक भारतमा सम्पन्न अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। भारतको आसाम राज्यस्थित गुहाटीमा शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मकवानपुरबाट सहभागी ६ जना खेलाडीमध्ये ३ जनाले स्वर्ण, २ जनाले रजत र १ जनाले काँस्य पदक जित्न सफल भएका छन्।
मकवानपुर जिल्लाका कराँते प्रशिक्षक विष्णु श्रेष्ठका अनुसार महिलातर्फ ५५ केजी तौल समूहमा सविना आले र उमेर समूहमा रेश्मा थापाले स्वर्ण पदक जितेकी छन्। पुरुषतर्फ उमेर समूहमा रिदम थापाले स्वर्ण पदक दिलाएका हुन्। त्यसैगरी, महिलातर्फ उमेर समूहमा ज्योति लुङ्बाले रजत पदक प्राप्त गरेकी छन् भने सहशी विश्वकर्माले ५५ केजी तौल समूहमा रजत पदक जितेकी छन्। पुरुषतर्फ ६० केजी तौल समूहमा रोहित थापाले काँस्य पदक हासिल गरेका छन्।
आइकेओ क्योकुशिन वर्ल्ड वे इन्डिया तथा क्योकुशिन काइ कान कराँते संघ आसामको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा ५० केजीदेखि खुल्ला तौल समूहसम्मका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा आयोजक देश भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र अफगानिस्तानका खेलाडीहरूको सहभागिता रहेको थियो।







