मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले नवनियुक्त कर्मचारीहरूलाई अनुशासन, इच्छाशक्ति र कर्तव्यनिष्ठालाई मूल मन्त्र बनाएर काम निर्देशन दिएका छन् ।
मन्त्रालयमा मंगलबार एक कार्यक्रमकाबीच प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएका १७ जना नवनियुक्त सव–इन्जिनियरहरूलाई नियुक्ति पत्र प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री डा.देवकोटाले करियरमा उचाइ हासिल गर्न ‘अनुशासन, सिक्ने इच्छाशक्ति र कामप्रतिको प्रतिबद्धता’ अनिवार्य रहेको उल्लेख गरे । ‘नेपालको प्राविधिक क्षेत्रमा सव-इन्जिनियर पद जग हो ।’ उनले भने, ‘यही पदबाट सुरु गरेर मानिसहरू प्रतिष्ठित डीन र प्रोफेसर बनेका छन् । त्यसैले उच्च लक्ष्यका साथ काम गर्नुहोस् ।’
सम्बोधनका क्रममा मन्त्री डा.देवकोटाले आफ्नो ४४ वर्षअघिको स्मृति पनि साझा गरे । २०३८ साल वैशाख १४ गते आफूले पनि पहिलो पटक सव–इन्जिनियरकै रूपमा सरकारी सेवा सुरु गरेको स्मरण गर्दै उनले नयाँ कर्मचारीहरूलाई देख्दा आफूलाई ऊर्जा मिलेको बताए । विशेषगरी कार्यक्षेत्रमा खटिने महिला प्राविधिकहरूलाई थप साहस र निष्ठाका साथ चुनौतीहरूको सामना गर्न उनले प्रोत्साहन दिए ।
मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाको उपस्थितिमा भएको उक्त कार्यक्रममा नियुक्त कर्मचारीहरूलाई प्रदेशका विभिन्न जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयहरूमा खटाइने जानकारी दिइएको छ । उनीहरूलाई जनअपेक्षा अनुसार गुणस्तरीय विकास निर्माणमा केन्द्रित हुन समेत मन्त्रालयले निर्देशन दिएको छ ।







