मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ३, पोलदम्कीमा बागमती प्रदेश सरकारको तीन करोडको लागतमा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास गरिएको छ ।
भीमफेदी ३ नम्बर वडाका अध्यक्ष प्रितिलाल लामाको पहलमा यो परियोजनाले पुल निर्माणले सार्थकता पाउँन लागेको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मंगलबार समारोहबीच पुलको शिलान्यास गरिन् ।
वडा अध्यक्ष लामाको नेतृत्वमा यस क्षेत्रको विकासले गति लिएको छ। यो पुलले लेक पान्द्राङ्गदेखि पारीपाखा सिमल्टार, चिलाउने, पोल दम्की सम्मका बासिन्दाको जीवनस्तर उकास्न ठूलो योगदान पुर्याउने अपेक्षा राखिएको छ ।
बागमती प्रदेश सरकारको बजेट श्रोतबाट निर्माण हुने पुलले लेक पान्द्राङ्ग, पारीपाखा सिमल्टार, चिलाउने र पोलदम्की क्षेत्रका नागरिकलाई वर्षायाममा हुने सास्तीबाट सहजता मिल्नेछ । यसले कृषि उपजको बजार पहुँच विस्तार गर्न र गाउँपालिकाको ३ नम्बर वडालाई आर्थिक र सामाजिक रूपमा जोड्न निर्णायक भूमिका खेल्नेछ।
वडा अध्यक्ष प्रितिलाल लामाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशेष आतिथ्यतामा भएको समारोहमा भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी भीमफेदी संयोजक बद्री स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।







