मकवानपुर । हेटौँडाको सडक फराकिलो पार्ने सवालमा व्यवसायीलाई असर नपारी अन्यन्त्र स्थानान्तरण गर्न सकिने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले २५-२५ गज सडक विस्तारको तयारीसँगै विस्थापित हुन सक्ने स्थानीय व्यवसायीलाई बजार क्षेत्रमा नै व्यवस्थित रूपमा पुनर्स्थापना गर्न सकिने उपमहानगरपालिकाको भनाई छ ।
सडक विस्तारका कारण प्रभावित हुने व्यवसायीलाई वैकल्पिक रूपमा कसरी राख्ने भन्ने विषयमा उठेको चासोलाई सम्बोधन गर्दै उपमहानगरपालिकाले आवश्यक स्थानको पहिचान भइसकेको र व्यवसायीलाई तत्काल बसाइको समस्या नपर्ने दाबी गरेको हो।
उपमहानगरपालिकाका अनुसार हेटौंडा बसपार्क क्षेत्रका ४० वटा सटर बिस्थापित व्यवसायी पुनर्स्थापनाका लागि प्राथमिक स्थानका रूपमा प्रस्ताव गरिएको छ। मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा बसपार्कका यी सटर प्रभावकारी रूपमा वितरण गर्न सकिने र यतातिर सर्न चाहने व्यवसायीलाई सहज प्रक्रिया अपनाइने उपमहानगर स्रोतको भनाइ छ।
यस्तै, हेटौँडा–११ मा निर्माण गरिएको तरकारी, फलफूल तथा थोक व्यापारका लागि छुट्याइएका ६० वटा कोठा पनि बिस्थापित व्यवसायीका लागि उपलब्ध गराइने तयारी गरिएको छ। यी भवनहरू मूलतस् कृषि उत्पादनको थोक व्यापारका लागि निर्माण गरिएका भए पनि अस्थायी वा स्थायी रूपमा बजार क्षेत्रबाट सारिनुपर्ने व्यवसायीलाई यहीं समायोजन गर्न सकिने उपमहानगरको तर्क छ।
त्यसबाहेक, भुटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका तर हाल खाली रहेका सटरहरू पनि पुनर्स्थापनाका सम्भावित स्थानको रूपमा सूचीकृत गरिएको उपमहानगरपालिकाले जनाएको छ। विद्यालय परिसरमा रहेका ती सटर बजार क्षेत्रसँग नजिक भएकाले व्यवसाय सञ्चालन सहज हुने अनुमान गरिएको छ।
उपमहानगरपालिकाले धेरै व्यवसायीले यसअघि नै हेटौँडाका विभिन्न स्थानमा दुई-दुईवटा पसल सञ्चालन गरिरहेको र सम्भावित बिस्थापनलाई लक्षित गर्दै धेरैले वैकल्पिक स्थान सुनिश्चित गरिसकेको तथ्य पनि सार्वजनिक गरेको छ। बजार भत्किने हल्ला चलेसँगै लामो समयदेखि खाली रहेको नारायणी मल समेत व्यवसायीले अग्रिम रूपमा बुक गरिसकेका छन् ।
यस्तै, शहरभरि खाली रहेका विभिन्न सुपर मार्केटका कोठा तथा सटर पनि व्यवसायी पुनर्स्थापनाका लागि प्रयोग गर्न सकिने उपमहानगरकाको भनाई छ ।
सडक विस्तारका क्रममा विस्थापित हुने व्यवसायीको पुनःर्स्थापनाका लागि आवश्यक समन्वय, सहयोग र व्यवस्थापन कार्यमा प्रभावकारी भूमिका खेलिदिन हेटौंडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघलाई अनुरोध गरेको छ। संघ र उपमहानगर मिलेर व्यवसायीलाई सुरक्षित व्यापार वातावरण उपलब्ध गराउने योजना बनाइरहेको उपमहानगर पालिकाले जनाएको छ।






