मित्रता जीवनको त्यो सम्बन्ध हो जसले हर्ष–विषाद दुवैमा साथ दिन्छ । हरेक मित्रता सधैं अटल नरहन पनि सक्छन् । धेरै मित्रता सुरु हुन्छन् तर समयसँगै टुट्छन् पनि । साँचो मित्रता भनेको विश्वास, सहानुभूति र आदरको धागोले गाँसिएको सम्बन्ध हो, जसलाई सुमधुर राख्न सानो–सानो कुरामा पनि संवेदनशील हुनुपर्छ ।
मित्रताको पहिलो र सबैभन्दा महत्वपूर्ण आधार विश्वास हो । साथीले विश्वास गरेर भनिएका गोप्य कुराहरूलाई अरूसँग बाँड्नु विश्वासघात हो, जसले सम्बन्धलाई चिरा पार्छ । यदि कुनै कुरा भन्नु ठीक हो कि होइन भन्नेमा द्विविधा छ भने सोध्नु नै बुद्धिमानी हुन्छ । आत्मीयतासँगै जिम्मेवारी पनि महसुस हुनु नै साँचो मित्रता हो ।
मित्रतामा संवादको भूमिका पनि उत्तिकै गहिरो हुन्छ । साथीको कुरा ध्यानपूर्वक सुन्नु, उसले अनुभव गरिरहेको भावनामा चासो देखाउनु र उसको दृष्टिकोण बुझ्ने प्रयास गर्नु नै सहानुभूति हो । यस्तो व्यवहारले मात्र सम्बन्धलाई अझ गहिरो बनाउँछ । संवेदनशील बन्नु भनेको केवल सुन्नु होइन, अनुभवमा पनि साथ दिनु हो ।
मित्रता मजबुत बनाउन समय दिनु आवश्यक छ । हरेक सम्बन्धलाई फल्न–फूल्न माया र उपस्थितिको आवश्यकता हुन्छ । व्यस्त जीवनबीच पनि कहिलेकाहीँ सँगै बस्ने, कुराकानी गर्ने वा सानो सहयोग गर्ने क्षणहरू नै सम्बन्धलाई स्थायी बनाउँछन् । मित्रको लागि समय निकाल्नु भनेको उसलाई आफ्नो जीवनमा महत्व दिनु हो ।
धन्यवाद र प्रशंसा व्यक्त गर्न पनि नबिर्सनुहोस् । साथीहरूले तपाईंको जीवनमा जे योगदान दिएका छन्, त्यसको मूल्य बुझ्नु र तिनीहरूलाई त्यसको अनुभूति गराउनु मित्रताको ऊर्जा हो । ‘तिमी महत्वपूर्ण छौ’ भन्ने सानो वाक्यले पनि सम्बन्धलाई उज्यालो बनाउँछ ।
एक साँचो मित्र कहिल्यै पछाडिबाट कुरा गर्दैन । कहिलेकाहीँ रिस वा असहमति पनि हुन्छ, तर त्यसको समाधान गफगाफबाट खोजिन्छ, बदला वा आलोचनाबाट होइन । मित्रको अनुपस्थितिमा पनि उसको सम्मान गर्नु नै वास्तविक मित्रताको परीक्षा हो ।
मित्रता हरेक समयमा सहज हुँदैन । कहिलेकाहीँ मतभेद हुन्छ, गल्तीहरू हुन्छन् । तर गल्ती स्विकार्न र माफी माग्न सक्नु परिपक्वताको चिन्ह हो । ‘माफी चाहन्छु’ भन्ने तीन शब्दले कहिलेकाहीँ वर्षौंदेखिको दूरी घटाउन सक्छ । त्यसैले अहंकारले होइन,आत्मीयताले बोल्नुहोस् ।
प्रत्येक सम्बन्धमा सहयोगको भावना आवश्यक हुन्छ । जब साथी कठिन अवस्थामा हुन्छ, उसलाई साथ दिनु, प्रोत्साहन गर्नु र उसमा भरोसा जगाउनु साँचो मित्रताको सौन्दर्य हो । खुशीका क्षणहरू मात्र होइन, कठिन घडीमा पनि उपस्थित हुन सक्नु नै साँचो मित्रको गुण हो । यद्यपि, राम्रो मित्र बन्नुअघि आफैंलाई पनि बुझ्नुपर्छ । आफैंसँग सन्तुलनमा नहुने मानिसले अरूसँगको सम्बन्ध पनि स्वस्थ राख्न सक्दैन । त्यसैले आत्मस्वीकृति, आत्म-हेरचाह र सकारात्मक सोचले मात्र तपाईंलाई साँचो अर्थमा राम्रो मित्र बनाउँछ । जब तपाईं आफैंसँग शान्त हुनुहुन्छ, तपाईं अरूका लागि पनि सहज र समझदार बन्नुहुन्छ ।मित्रता सदवै सुमधुर हुने भनेको त निरन्तर प्रयासको परिणामका कारण हो ।







