सबै प्राणीमध्ये मानिसलाई विशेष बनाउने शक्ति भनेको बोल्ने क्षमता हो । मानिस अरू जस्तै देखिए पनि उसको शब्द प्रयोग, बोल्ने तरिका र अभिव्यक्तिले नै उसलाई असाधारण बनाउँछ । एक बालक जन्मिएर डेढ वर्षको हुँदा पहिलोपटक बोली फुटाउँछ, तर त्योभन्दा अगाडि उसले वरपरका सबैका बोली र व्यवहार सुन्दै, हेर्दै, बुझ्दै सिकाइको आधार तयार पारिरहेको हुन्छ । तोते बोलीबाट सुरु भएको यो यात्रा बिस्तारै स्पष्ट शब्द र भावपूर्ण अभिव्यक्तामा रूपान्तरण हुँदै जान्छ । यस क्रममा उसको परिवार, विशेष गरी आमाबाबुको बोली, हाउभाउ र व्यवहार नै पहिलो पाठशाला बन्ने गर्छ ।
बालकको बोली केवल उसको आवाज मात्र होइन, घरको परिवेश, सन्देश र व्यवहारको प्रतिबिम्ब पनि हो । गर्भमै हुँदा बच्चाले आमाको बोली, सोच, भावना र वातावरणबाट प्रभाव ग्रहण गर्न थालिसकेको हुन्छ । त्यसैले गर्भवती महिलाको सकारात्मक सोच, सान्त वातावरण र मधुर बोलीले भावी सन्तानको स्वभाव र बोल्ने शैलीमा प्रत्यक्ष प्रभाव पार्छ । अर्कोतर्फ, निरन्तर तनाव, रिस–असन्तोष र नकारात्मक व्यवहार भएको घरमा हुर्किएका बालबालिकामा ती गुणहरूको छाया पर्न जान्छ । त्यसैले घरमा सद्भाव, हाँसो र मधुर वचनको अभ्यास नै असल सन्तान जन्माउने आधार हो ।
जब बालक बोल्न सिक्दै जान्छ, अभिभावक र परिवारका अन्य सदस्यले उसँग सधैं मुस्कानसहित, प्रेमपूर्ण र शान्त भाषामा कुरा गर्नुपर्छ । घर नै पहिलो विद्यालय हो, र आमाबाबु नै पहिलो शिक्षक । उनीहरूको बोली, हाउभाउ र व्यवहारबाटै बालकले कसरी बोल्ने, कसरी सुन्ने, कहिले मौन रहने भन्ने कुरा बिस्तारै आत्मसात गर्छ । घरमा भएको आपसी समझदारी, सँगै छलफल गर्ने बानी, सबैको विचार सुन्ने संस्कृति र सकारात्मक संवादले उसको सामाजिक सोच र व्यवहारलाई बलियो बनाउँछ ।
बोल्न सक्नु ठूलो कुरा होइन, तर कसरी बोल्ने भन्ने कला भने असल व्यक्तित्वको मापन हो । मधुर बोलीले मन जितिन्छ, जबकि कठोर बोलीले सम्बन्ध तोड्न सक्छ । रिस, आवेश र हकारले भरिएको बोलीले केवल दूरी बनाउँछ; शान्त, सन्तुलित र मृदु वचनले भने सम्बन्ध नजिक ल्याउँछ । मानिसलाई अरूको मनमा स्थान दिलाउने शक्ति शस्त्र वा अधिकारले होइन, मुस्कान र मीठो वचनले हुन्छ ।
विद्यालयमा बालबालिकालाई गणित, विज्ञान, भूगोल सिकाइन्छ, तर वाणीको कला सिकाइँदैन। वास्तवमा, पढाइका सबै विषयहरूको मूल चाबी नै बोली हो । शिक्षकले मुस्कानसहित मधुर स्वरमा सिकाउँदा विद्यार्थीमा उत्साह, विश्वास र समझदारी बढ्छ । दण्ड होइन, संवादले नै सिकाइ प्रभावकारी बनाउँछ । बालबालिकाले शिक्षकको बोलीमा विश्वास गर्छन्, त्यसैले शिक्षकको वाणीले तिनको सोच र व्यवहारमा दीर्घकालीन प्रभाव पार्छ ।
राम्रो व्यक्तित्व केवल बाहिरी साजसज्जाबाट बनिँदैन । राम्रो कपडा, जुत्ता वा सौन्दर्य प्रसाधनले मात्रै होइन, भित्रको विनम्रता र बोलीको मिठासले मानिसको सौन्दर्य निखारिन्छ । मधुर बोली सुनमा सुगन्ध जस्तै हो, जसले अरूको मन जित्छ र आफ्नो आभा फैलाउँछ ।
प्रकृतिले हामीलाई मुख, कान, हात, आँखा जस्ता सबै वरदान दिएका छन्, तर तिनको उपयोग कसरी गर्ने भन्ने हाम्रो मनमा भर पर्छ । मनलाई नियन्त्रणमा राख्न सकेनौं भने इन्द्रियहरू बेकाबु घोडा जस्तै बन्छन्, जसले विवाद र असन्तोष जन्माउँछ । तर जब मन शान्त हुन्छ, बोली पनि मधुर बन्छ, अनि जीवनमा सौन्दर्य, शान्ति र सम्बन्धको मिठास बसोबास गर्न थाल्छ ।







