सकारात्मक बन्नु भनेको जीवनका चुनौतीहरूलाई अवसरका रूपमा हेर्नु हो । हामी सबैमा कहिलेकाहीँ नकारात्मक विचार आउँछन् । यी विचारले हाम्रो मनोबल घटाउँछन्, आत्मविश्वास कमजोर बनाउँछन् र निर्णय क्षमतामा असर पार्छन् । तर नकारात्मकता हटाउन सकिन्छ । यसको पहिलो र सबैभन्दा महत्वपूर्ण उपाय भनेको आफ्नो सोचलाई सचेत रूपमा नियन्त्रित गर्नु हो । जब पनि नकारात्मक विचार आउँछ, त्यसलाई पक्रिनु, विश्लेषण गर्नु र त्यसको विकल्पमा सकारात्मक पक्ष हेर्नु जरुरी छ ।
हामीले हाम्रो वरिपरि सिर्जना गर्ने वातावरणले पनि हाम्रो मानसिकता निर्धारण गर्छ । मित्र, परिवार र सहकर्मीहरूले दिने प्रेरणा, उत्साह र सहयोगले हाम्रो मनोबल बलियो बनाउँछ । त्यसैले सकारात्मक वातावरणमा समय बिताउनु, सकारात्मक मानिसहरूसँग कुरा गर्नु र प्रेरणादायक गतिविधिमा संलग्न हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक जीवनमा स-साना उपलब्धिहरूको मूल्याङ्कन गर्नुले पनि आत्मविश्वास बढाउँछ । हामीले कहिलेकाहीँ ठूलो लक्ष्यमा ध्यान दिँदा स-साना प्रगति छुटाउँछौं । तर ती स–साना प्रगति र सफलताहरूलाई मान्यता दिनाले मनमा उत्साह र आत्मविश्वास उत्पन्न हुन्छ । विगतका अनुभवबाट सिक्नु, विफलताप्रति सजग रहनु र सुधारको अवसर हेर्नु आत्मविश्वास निर्माणका आधार हुन् । आफूले गर्न सक्ने कुरा र सकेको कुरा बुझ्नाले निर्णय क्षमतामा स्पष्टता आउँछ । आफ्नो सीमाहरू बुझ्नाले हामीले आवश्यकता अनुसार सहयोग माग्न र सही रणनीति बनाउन सक्दछौं । नियमित रूपमा ध्यान, ध्यानात्मक अभ्यास र सकारात्मक पुष्टि गर्ने बानीले मस्तिष्कलाई सकारात्मक दिशामा प्रशिक्षित गर्छ । दैनिक रूपमा आफूलाई ‘म सक्छु’, ‘म सक्षम छु’, ‘म सही निर्णय लिन सक्छु’ भन्ने जस्ता सकारात्मक वाक्यांश दोहोर्याउनाले मानसिक बल बढ्छ ।
आत्मविश्वासको विकासमा लक्ष्य निर्धारण र योजना बनाउनु महत्वपूर्ण हुन्छ । भबिष्यको स्पष्ट दृष्टि राख्नु, लक्ष्य निर्धारण गर्नु र त्यसतर्फ स–साना कदम चाल्नुले मानसिक शक्ति र आत्मविश्वासमा अभिवृद्धि गर्छ । लक्ष्य हासिल गर्ने क्रममा आउने चुनौतीलाई डर वा नकारात्मक सोचको रूपमा होइन, सिकाइ र विकासको अवसरको रूपमा हेर्न सक्ने मानिसले मात्र वास्तविक सकारात्मकता अनुभव गर्न सक्छ ।
सकारात्मक सोच र आत्मविश्वासले जीवनमा विविध लाभ पुर्याउँछ । यसले तनाव कम गर्छ, सम्बन्ध सुधार्छ, निर्णय क्षमतामा सुधार ल्याउँछ र मानसिक स्वास्थ्य सुदृढ बनाउँछ । जब हामी सकारात्मक मानसिकतासँग अघि बढ्छौं,जीवनका कठिनाइलाई सहज रूपमा सामना गर्न सक्ने क्षमता पनि बढ्छ ।
सकारात्मकता अभ्यासको कुरा हो, सहज अवस्था होइन । हरेक दिन स–साना अभ्यास, सही दृष्टिकोण र सचेत प्रयासले नकारात्मक सोचलाई नियन्त्रण गर्न सकिन्छ । सकारात्मक सोचलाई जीवनको हिस्सा बनाउनेले मात्र मानसिक शान्ति, आत्मविश्वास र जीवनमा सफलता अनुभव गर्न सक्छ ।



