मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ धादिङस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा एक सातासम्म विभिन्न कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।
विद्यालयले आफ्नो ऐतिहासिक यात्रालाई स्मरण गर्दै विद्यालय, गाउँपालिका र जिल्ला स्तरमा विविध शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले स्वर्ण महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गर्दै महोत्सवलाई विद्यालयको गौरवमय इतिहास, योगदान र आगामी मार्गचित्रसँग जोडेर अर्थपूर्ण ढंगले मनाइने बताए ।
उनका अनुसार कार्यक्रम सात दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी, अभिभावक र स्थानीय समुदाय सबैको सहभागिता रहनेछ । महोत्सवलाई स्थानीय स्तरमा मात्र सीमित नराखी विद्यालयको पहिचान र मूल्यलाई अझ बढी उजागर गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीले स्वर्ण महोत्सवका अवसरमा आयोजना गरिने कार्यक्रमहरूको विस्तृत सूची प्रस्तुत गरे । उनका अनुसार जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँपालिका स्तरीय खुला चेस प्रतियोगिता, पूर्वविद्यार्थी मित्रता मिलन कार्यक्रम, विद्यालयस्तरीय विज्ञान प्रदर्शनी, विद्यालयको इतिहास र पहिचान झल्किने वृतचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम र विद्यालय परिसरमा शिलालेख लेखन तथा स्वर्ण जयन्ती पर्खाल निर्माणजस्ता कार्यक्रमहरू आयोजना गरिनेछ ।
यस्तै, विद्यालयमा रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने, विद्यार्थीहरूका लागि अक्षयकोषमार्फत छात्रवृत्ति वितरण गरिने, विद्यालय गान निर्माण तथा स्वर्ण जयन्ती गीत तयार गर्ने काम पनि महोत्सवकै क्रममा सम्पन्न गरिने प्रधानाध्यापक कार्कीले बताए । अभिभावक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता लगायतका मनोरञ्जनात्मक तथा शैक्षिक कार्यक्रमसमेत समावेश गरिएको छ । उनका अनुसार महोत्सव केवल औपचारिक कार्यक्रम नभई विद्यालय, समुदाय र पूर्वविद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसर पनि हो ।
विद्यालय व्यवस्थापन समितिले विगत कार्तिक महिनामा देउसीभैलो कार्यक्रम सञ्चालन गरी १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको थियो । सो रकमको केही हिस्सा महोत्सव सञ्चालनमा खर्च गरिने र बाँकी रकम विद्यालयका आर्थिक रूपमा कमजोर तथा प्रतिभाशाली विद्यार्थीका लागि छात्रवृत्ति कोषमा राखिने वडा नम्बर–५ का वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिए । उनका अनुसार विद्यालयले स्थानीय सहयोग, समुदायको सहभागिता र पूर्वविद्यार्थीहरूको भावनात्मक सम्बन्धलाई आधार मानेर दीर्घकालीन शैक्षिक विकासमा ध्यान दिनुपर्ने समय आएको छ । दाहालले स्थानीय तह, विद्यालय र समुदायको संयुक्त प्रयासले शैक्षिक गुणस्तरमा थप सुधार हुने विश्वास व्यक्त गरे ।
विद्यालयले ५० वर्षको यात्रामा स्थानीय सीप, संस्कार र शिक्षा विकासमा महत्वपूर्ण योगदान दिएको छ । विद्यालयले धेरै सक्षम विद्यार्थी उत्पादन गरेको र समुदायमा शैक्षिक वातावरण निर्माणमा अग्रसर भूमिका खेल्दै आएको छ । स्वर्ण महोत्सवले विद्यालयको उपलब्धिको समीक्षा, कमजोरीको पहिचान र भविष्यको शैक्षिक योजना निर्माण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
स्वर्ण महोत्सव समारोह एकैपटक इतिहासको सम्मान, वर्तमानको मूल्यांकन र भविष्यको तयारीको रूपमा मनाइने विद्यालयले जनाएको छ ।







