‘एमालेमै फर्कन आह्वान’

मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पार्टी विभाजनका क्रममा एकीकृत समाजवादीतर्फ गएका आफ्ना पूर्वकार्यकर्ताहरूलाई पुनः ‘पुरानो घर’ फर्कन आग्रह गरेको छ।

पार्टी उपाध्यक्ष हिदम लामाद्वारा जारी अपिलमा हालको राष्ट्रीय राजनीतिक परिवेश, पार्टीमाथि देखिएका प्रहारहरू तथा राष्ट्रिय स्वाधीनता र समृद्धिको नेतृत्वकर्ताका रूपमा एमालेको भूमिकालाई स्मरण गर्दै पूर्वकार्यकर्ताहरूलाई पुनः संगठित भएर जुट्न आह्वान गरिएको छ।
अपिलमा भनिएको छ, ‘नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले नै राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने तथ्य र परिणामहरूले हामीलाई गर्वबोधको अनुभूति हुन्छ।’ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा त्यसमा भएको घुसपैठले मच्चाएको विध्वंसको विश्लेषण गर्दा एमालेको पार्टी कार्यालय र नेतृत्वको निवासलाई नै प्रहारको लक्ष्य बनाइएको स्पष्ट देखिएको उल्लेख विज्ञप्तिमा गरिएको छ।

एमालेलाई कमजोर पारेर मात्र नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा धक्का दिने र समृद्धिको सपना क्षीण बनाउने देशी–विदेशी शक्तिहरू सक्रिय रहेको परिस्थिति छर्लङ्ग भएको अपिलमा उल्लेख छ । हालको राजनीतिक परिदृश्यमा दलभित्र गठन, पुनर्गठन र विघटनका तरंगहरू देखिएका उल्लेख गर्दै लामो समय पार्टी निर्माणमा योगदान दिएका मध्ये मकवानपुरका केही कार्यकर्ताहरू विभाजनका बेला एकीकृत समाजवादीतर्फ गएको स्मरण गरिएको छ।

अपिलमा भनिएको छ,‘विद्यमान परिस्थितिमा तपाईहरूको योगदानको निरन्तरता, राजनीतिक सक्रियता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा एमाले नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.