मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पार्टीभित्रैबाट दबाबमा परेका छन्। सत्ता हस्तान्तरणको सहमति अनुसार अब उनले पद छाड्नुपर्ने भन्दै नेताहरूले चासो देखाएका छन्।
८ साउन २०८१ मा एमालेसँगको सहमतिपछि लामा मुख्यमन्त्री बनेका थिए। कांग्रेसका पहिलो मुख्यमन्त्री भएका लामाले सांसद इन्द्रबहादुर बानियाँसँग ९ महिनापछि सरकार सुम्पिने मौखिक सहमति गरेका थिए।
बानियाँले उक्त सहमति सभापति शेरबहादुर देउवा र पत्नी आरजुलाई स्मरण गराएका छन्। देउवा निवासमा भएको छलफलमा स्पष्ट निर्णय भने नभएको बताइएको छ।
मुख्यमन्त्री लामा नजिकका सांसदले बानियाँले पदका लागि जोड गरिरहेको बताएका छन्। कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पनि नेतृत्व हस्तान्तरणको चर्चा पार्टीभित्र भएको स्वीकारे। तर संसदीय दलमा छलफल नभएको बताए।
बानियाँ अघिल्लो कार्यकालमा दलको नेता थिए। तर मुख्यमन्त्री बन्न सकेनन्। १३ पुस २०७९ मा लामा बिरुद्ध चुनाव हारेपछि उनको दाबी कमजोर भयो। लामा २१ र बानियाँ १६ मतमा सीमित भए।
मुख्यमन्त्री बन्न बानियाँलाई दलको नेता बन्नु आवश्यक छ। तर पुनः चुनाव वा सर्वसम्मतिबाट मात्र सम्भव छ। दुबै विकल्प कठिन देखिन्छन्।
लामा संस्थापन पक्षको समर्थनमा छन्। बानियाँ भने शेखर–गगन र प्रकाशमान समूहको समर्थनमा थिए। अहिले बानियाँ पूर्णबहादुर खड्कासँग नजिक भएको बताइन्छ ।
बानियाँ पक्षले सत्ता आधा-आधा हुने लिखित सहमतिको फोटो रहेको दाबी गरेको छ। यता, लामा पक्षको भने मौखिक सहमति मात्र भएको भनाई छ ।







