नामटारमा ब्युटिसियन तालिम

तालिमपछि सामुहिक फोटो खिचाइँदै ।

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन गरिएको ब्युटिसियन तथा मेकअप तालिमबाट स्थानीय १८ जना महिला लाभान्वित भएका छन् ।

एक महिनासम्म सञ्चालित तालिम बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम भएको हो ।

वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको तालिम समापनमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता थियो । समापन कार्यक्रममा अध्यक्ष मुक्तानले सीप दीगोपनाका लागि टिकाउ र बिकाउ हुनुपर्नेमा जोड दिए । सीप सिकेर उद्यमी बन्नु उनले सुझाव समेत दिए । साथै, पालिकाकैबैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन सुरु भएको जनाए ।

आर्थिक वृद्धिका लागि पर्याप्त स्रोत नभएपनि प्रदेश र संघीय सरकारसँग सीपमुलक तालिमका लागि योजना माग गरेर गर्ने काम भइरहेको अध्यक्ष मुक्तानले जानकारी दिए । सीप पश्चात व्यवसायिक रुपमा लाग्न सबै सहभागीहरुलाई उनको आग्रह छ ।

यस्तै, पालिका उपाध्यक्ष बालकुमार मल्लले सीप सिकेर उद्यमी बन्न सुझाव दिए । व्यवसाय गर्न नसके पनि गाउँठाउँमा घरदैलो गरेर पनि सीपलाई आम्दानीमा जोड्नुपर्ने उनको भनाई छ । तालिममा राज्यको लगानी परेकाले सिकेको सीपलाई भरपुर सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

तालिमका सहभागी तारा थिङले सीप पश्चात पार्लर सञ्चालन गर्न सकिने बताउँदै ब्युटिसियन सम्बन्धी एडभान्स तालिम लिन सकिएको खण्डमा सीप अझै तिखारिने बताइन् । उनले आफूले सिकेको सीपको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाईन् ।

जिल्ला समन्वय समितिका सदस्य सुमित्रा थिङ, कार्यक्रम संयोजक इन्दिरा न्यौपाने, ९ नम्बर वडा सचिव पुजा बल्लभ, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यतामा तालिम समापन भएको हो ।

एक महिना ब्युटिसियन तथा मेकअप तालिमसँगै त्यहाँ सञ्चालित उद्यमशीलता सम्बन्धी तीन दिने तालिम पनि समापन गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.