छिटै भित्रियो मनसुन

मकवानपुर । नेपालमा यो वर्षको मनसुन सामान्यभन्दा १५ दिनअघि नै प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिबाट पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरेको जानकारी दिएको छ। अहिले कोशी प्रदेशभरि मनसुन फैलिइसकेको छ।

कोशीका विभिन्न मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम स्तरको मनसुनी वर्षा भइसकेको छ। विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो। तर यसपटक मे २९ मै मनसुन सुरु भइसकेको छ।

हाल देशका अन्य भागहरूमा भने अझै मनसुन फैलिन बाँकी छ। पश्चिमी वायु र स्थानीय वायुले ती क्षेत्रमा प्रभाव जमाइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले अहिलेको अवस्था निरन्तर नियालिरहेको छ। मौसमसम्बन्धी सूचना पनि नियमित अद्यावधिक भइरहेको विभागले बताएको छ।

विभागले यो मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावना औंल्याएको छ। जेठ १८ देखि असोज १४ सम्मको मनसुन अवधिभर देशभर धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ।

कर्णालीको पूर्वी भाग, लुम्बिनीको उत्तरी भाग र गण्डकीको अधिकांश भू–भागमा ५५ देखि ६५ प्रतिशत सम्भावना रहेको छ। सुदूरपश्चिमको दक्षिणी भाग, लुम्बिनीको पश्चिमी क्षेत्र, गण्डकीको उत्तर–पूर्वी क्षेत्र, बागमती र कोशीको उत्तरी भागमा ४५ देखि ५५ प्रतिशत सम्भावना छ।

यसले कृषिमा आशा बढाएको छ। तर, पूर्वतयारी आवश्यक छ। उच्च वर्षाले बाढी र पहिरोको जोखिम पनि साथ ल्याउन सक्छ। त्यसैले सतर्कता र सावधानी अपरिहार्य रहने देखिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.