पत्रकारितामा देखिएको सङ्कटप्रति चिन्ता


मकवानपुर। १३ र १४ जेठमा हेटौँडामा सम्पन्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो प्रादेशिक भेलाले पत्रकारिता पेशामा देखिएको सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै १३ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गरेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्‌घाटन गरेको भेलामा पत्रकार महासङ्घ बागमती प्रदेशका १३ जिल्ला, प्रदेश समिति, पेशागत सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

घोषणापत्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको प्रवर्द्धन, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त र लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । विशेषगरी श्रमजीवी पत्रकारको आर्थिक, भौतिक, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षा कोषमा समावेश गरिनुपर्ने माग गरिएको छ ।

स्वरोजगारमुलक सञ्चारमाध्यमलाई संरक्षण गर्दै समानुपातिक विज्ञापनको सुनिश्चितता, महिला तथा अपाङ्गता भएका सञ्चारकर्मीलाई विशेष सुविधा र अनुदान, प्रशिक्षण तथा सूचना केन्द्रको स्थापना र सञ्चारमाध्यमलाई उद्योगका रूपमा मान्यता दिने विषयमा स्पष्ट माग गरिएको छ ।
बागमती प्रदेश अन्तर्गत कार्यरत सञ्चारमाध्यमलाई प्रादेशिक सेवा सुविधामा समावेश गर्नुपर्ने, पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था, खोजमूलक पत्रकारितालाई लेखनवृत्ति तथा द्वन्द्व र विपद्मा काम गर्ने पत्रकारका लागि प्रोत्साहनको माग उठाइएको छ । मकवानपुरगढी लगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यको संरक्षण र प्रचारप्रसारमा सञ्चार माध्यमको भूमिकालाई सशक्त बनाउन आग्रह गरिएको छ ।

घोषणापत्रमा पत्रकारिता क्षेत्रको गहिरो सङ्कटप्रति राज्यको ध्यानाकर्षण गराउँदै तत्काल समाधानको खाँचो औंल्याएको छ । पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र दिगो बनाउने दिशामा महत्वपूर्ण हस्तक्षेपको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.